काठमाडौं । न्यायालयको नेतृत्वबाट चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेसँगै विवादास्पद न्यायाधीशहरुमाथि छानबिन सुरु भएको छ । विवादास्पद फैसला गर्ने न्यायाधीशमाथि न्याय परिषद्ले तत्कालै छानबिन गर्ने परिपाटी सुरु भएको छ ।
यही क्रममा जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीशलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाइएको छ । न्यायाधीशद्वय सूर्यप्रसाद अधिकारी र अम्बिका निरौलालाई न्याय परिषद्ले जिम्मेवारीबाट हटाएको हो ।

अधिकारीले दुई वर्षअघि बुढानिलकण्ठमा भएको दुर्घटनाका चालकलाई न्यूनतम सजाय तोकेका थिए । मदिरा सेवन गरेर पैदलयात्रुलाई किचेर मारेको घटनामा सामान्य दुर्घटना मानेर चालक पृथ्वी मल्ललाई ६ महिना मात्र सजाय तोकिएको थियो । त्यस्तै, अपहरणकारीलाई छाडेको र मिटरब्याजी गणेश उप्रेतीलाई सफाई दिने फैसला भएपछि न्यायाधीश निरौला विवादमा परेका थिए । त्यतिबेला चोलेन्द्रशम्शेर राणाले उनलाई जोगाए पनि अहिले उनीमाथि छानबिन सुरु भएको छ ।
त्यस्तै, बकपत्र फेरेकै आधारमा बलात्कार मुद्दामा पीडितलाई नै साढे तीन वर्ष सजाय सुनाउने अछामका न्यायाधीश नवीनकुमार जोशीमाथि पनि न्याय परिषद्ले छानबिन थालेको छ । प्रारम्भिक रुपमा उनको फैसला अध्ययन गर्दा त्रुटी देखिएकाले उनलाई पनि कारबाहीको तयारी भइरहेको स्रोत बताउँछ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा दीपक कार्की आएपछि भ्रष्ट न्यायाधीशहरुको सातो जान थालेको छ ।
त्यस्तै, चोलेन्द्रशम्शेर राणाका सेटिङ गिरोहका न्यायाधीशमाथि पनि कामु प्रधानन्यायाधीश कार्कीले छानबिन थालेका छन् । त्यसक्रममा पाटन उच्च अदालतमा बसेर सेटिङ गर्ने केही न्यायाधीशहरुलाई हालै अन्यत्र सरुवा गरिएको छ । उनीहरुको फैसलामाथि समेत अध्ययन भइरहेको स्रोत बताउँछ ।
राणाले गरेका फैसलामाथि पनि संसदमा छानबिन भइरहेको छ । उनको सम्पत्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोजिरहेको छ । यद्यपि, छानबिन रोक्नका लागि राणा राजीनामा नदिई सरकारी क्वार्टरमै बस्दै आएका छन् ।












