Logo

गोर्भाचोभ पथमा ओली, अप्ठ्यारामा कम्युनिष्ट पार्टी



कम्युनिष्ट अरूले सकेर सकिने होइन, आफैँ सकिने हो । यसका दुई चरण हुन्छन्– पहिलो, आफ्नो चरित्र सक्ने त्यसपछि पार्टी सक्ने । अहिले नेपालमा चरित्र सक्ने पहिलो चरण सकिएर पार्टी र आन्दोलन सक्ने दोस्रो चरण सुरू भएको छ । त्यसको नेतृत्व गर्ने एउटा भस्मासुरु पात्र चाहिन्छ, इतिहासले त्यो पात्रका रूपमा खड्गप्रसाद ओलीलाई पाएको छ । उनी बोट ढाल्दैछन्, अरू हाँगाबिँगा पन्छाउँदैछन् ।

कम्युनिष्टलाई सक्ने भनेको कम्युनिष्ट आफैँले नै हो, अरूले होइन । यसका दुई चरण हुन्छन्, पहिलो आफ्नो वर्गीय चरित्र सक्ने त्यसपछि पार्टी र आन्दोलन सकाउने । विश्व कम्युनिष्ट आन्दोलनका अनेक नजीरबाट यस्तै दृष्टान्त स्थापित भएको छ । कम्युनिष्ट सकिने स्थापित यो सूत्र नेपालमा पनि सुरू भइसकेको छ । अहिले नेपालका कम्युनिष्टहरूले आफ्नो कम्युनिष्ट चरित्र सकिसके । अपवादलाई छोडेर माथिदेखि तलैसम्मका कम्युनिष्टहरू जो हिजो अरूलाई पेटीबुर्जुवा भन्थे, अहिले सबैभन्दा बढी पेटीब्रुर्जवा उनीहरू आफैं भएका छन् । अहिले स्थिति यस्तो भइसकेको छ कि अब त को कम्युनिष्ट चरित्रबाट स्खलित भएको छ भन्दा पनि को चाँहि बाँकी छ भन्ने स्थिति छ । यस्तो थेसिसमा होइन, एन्टी थेसिसमा बाँच्नुपर्ने अवस्थामा पुगेका कम्युनिष्ट नेता, कार्यकर्ताबाट कम्युनिष्ट पार्टी बच्छ भनेर आशा गर्न सकिने ठाउँ पनि सकिँदै छ ।

नेपालमा कम्युनिष्ट पार्टी नामका अनेक पार्टी छन् जसलाई आलोचनात्मक भएरभन्दा नाङ्ले पसलभन्दा पनि फरक पर्दैन, यसमा कोही रिसाउनुपर्ने धरातलीय कारण पनि कही रहँदैन । नेपालमा जति पनि कम्युनिष्ट नामका पार्टी छन्, ती सबैका राजनीतिक दर्शन, सिद्धान्त, विचार र नीति एउटै छन्, पार्टीको नाम पनि एउटै छ, फरक भनेको कोष्टमा लेखिने उपनामले मात्र हो । सबैले भन्ने जनता पनि एउटै छन् । उनीहरू अझै पनि जुन वर्गको कुरा छन्, त्यो पनि एउटै छ । यतिका सबै समानता भएर पनि नेपाल कम्युनिष्ट पार्टी नामका दर्जनौँ पार्टी हुन्छन् भने तिनीहरूलाई कम्युनिष्ट पार्टीभन्दा पनि बढी कम्युनिष्टका नाममा खोलिएका ‘नाङ्ले पसल’भन्दा के फरक पर्ला र ? नेपालमा परिवर्तनकारी शक्ति भनेको कम्युनिष्ट मात्र हो ।

देशमा आजसम्म जति पनि आन्दोलन भएका छन्, ती सबै कम्युनिष्टहरूकै बलबुतामा भएका छन् । तर, पनि उनीहरूका लागि अन्तर्राष्ट्रिय परिस्थिति ठीक छैन, आफूआफूमै ठूलो हुँ भन्ने अहम छ । यी दुई कारणले उनीहरू आन्दोलनका नेता हुनसकेका छैनन्, सबै आन्दोलनको नेता कांग्रेसलाई नै बनाउन बाध्य छन् । जब आन्दोलन सफल हुन्छ र कम्युनिष्टहरूलाई सहज वातावरण बन्छ, उनीहरू सत्तामा पुग्छन् । तर, जब सत्तामा पुग्छन् तब उनीहरूमा फेरि पुरानै ‘नाङ्ले–पसल’ चरित्र हाबी हुन थाल्छ र अरूका कारणले होइन, आफ्नै कारणले आफूलाई सत्ताबाट सडकमा पुर्याउँछन् । सत्तामा पुगेपछि सेवक होइन, शासक हुन खोज्छन्, त्यसका लागि उनीहरू आफैँ पनि योग्य छैनन् र अरू सहायक कारणको पनि मेलोमेसो मिलाउन जान्दैनन् ।

एकपटक होइन, पटक–पटक यस्तै भएको छ । इतिहासका धेरै पाना पल्टाउनै पर्दैन, २०६२–६३ को आन्दोलन र त्यसपछिका १५ वर्ष हेर्याे भने नेपालका कम्युनिष्टहरूले यी सबै चरण पार गरिसकेको पाइन्छ । पछिल्लोपटक दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेको थियो । यो नेकपालाई नेपाली जनताले झण्डै दुईतिहाइ बहुमत दिएर शासन सत्ता सुम्पे । उनीहरूको एउटै आशा थियो, देशमा सुशासन होला, हुनेखानेको होइन, हुँदा खानेको दिन आउला । तर, दुर्भाग्य त्यस्तो भएन । केही हुदाँ खानेहरू सत्ताको वैतरणी तरेर हुनेखाने भए, केही हुने खाने भइसकेकाहरू अरू बढी हुने खाने भए । सत्तामा फेरि अधिकांश भूतपूर्वहरू नै वर्तमान भए । उनीहरू आफू मात्र वर्तमान भएनन्, आफ्ना नातापाता र आसेपासेलाई पनि वर्तमान बनाए ।

सत्तामा पुगेकाले यसरी आफ्नालाई पोसेर जनता होइन, आफू र आफ्नो गुटलाई बलियो बनाए । र, त्यो शक्तिको प्रहार सबैभन्दा पहिला आफ्नै पार्टीमा रहेकामाथि सुरू भयो । त्यो प्रहारको अर्को पक्षले जवाफ दिँदा अन्ततः नेकपा त सर्वोच्च अदालतले टुटाइदियो नै, नेकपा एमाले र माओवादी पनि अरू टुक्रा–टुक्रा भए । कम्युनिष्टको चरित्र नै के हो भने पहिला पार्टी बलियो बनाउने, जब त्यो बलियो हुन्छ त्यसपछि गुट बलियो बनाउने, अनि गुट पनि बलियो बनाएपछि व्यक्ति बलियो बनाउने । जब व्यक्ति बलियो हुन्छ, तब त्यसले कसैलाई गन्दैन । अनि उसले सबैभन्दा पहिला बलियो बनाएको पार्टीलाई छाँस्न थाल्छ । त्यसपछि सकिने भनेको कम्युनिष्ट पार्टी नै हो । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाँस्न कुनै कसर बाँकी राखेनन् । उनका लागि सबैभन्दा ठूलो शत्रु कोही भएनन्, प्रचण्ड भए ।

जसले यो पार्टीलाई नम्बर १ बनाउन योगदान दिए र उनलाई प्रधानमन्त्री बन्ने अंकगणित दिए । जब प्रचण्डको माओवादी बाहिरियो । त्यसपछि बाँकी रहेको एमाले पनि ओलीको छसाइमा पर्याे । यस चरणमा उनका सबैभन्दा शत्रु ठूला माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम आदि भए । जसले यो पार्टी बनाउन सारा जीवन लगाएका थिए, अहिले ओली ती सबैलाई बाहिर बनाएर एमालेलाई ‘बा’माले बनाएका छन् । भएका कम्युनिष्टलाई पाखा लगाएर भरभरका गैरकम्युनिष्ट भित्र्याइरहेका छन् र भनिरहेका छन्, एमाले मात्र कम्युनिष्ट पार्टीले । यसले के देखाउँछ भने वास्तवमा उनी सुन्निएका छन् तर मोटाएको अभिनय गरिरहेका छन् । ओलीको यो क्रियालाई प्रचण्ड र नेपाल पनि प्रतिक्रिया दिन बाध्य छन् ।

यसले गर्दा संघमा मात्र होइन, प्रदेशमा भएका कम्युनिष्ट सरकार पनि एकपछि अर्को गिराएर कांग्रेस सत्तारोहण गराइए । यो सबका लागि सबैभन्दा ठूलो अपराध ओलीले गरेका छन्, बाँकी अपराध ओलीका आठपहरियाले त गरेकै छन्, एमालेलाई ‘बा’माले बनाउन धेरथोर योगदान प्रचण्ड–नेपालहरूले पनि गरेका छन् । जसको परिणाम आज उनीहरू नै भोगिरहेका छन्, देश र जनताले भोगिरहेका छन् । हुँदाहुँदा अब स्थिति यस्तो छ कि अब यी तीन कम्युनिष्ट नेता कसले कसलाई साइजमा ल्याउने भन्ने चरणमा ‘जुङ्गाको लडाइँ’को चरणमा धकेलिएका छन् । प्रचण्ड र नेपाललाई साइजमा ल्याउने भनेर ओली जे पनि गर्न लागेका छन् भने प्रचण्ड र नेपाल पनि एकपटक ओलीलाई साइजमा ल्याउन काउन्टर दिइरहेका छन् ।

जसले जसलाई साइजमा ल्याए पनि त्यसले अन्ततः कांग्रेसको साइज बढाएर कम्युनिष्टकै साइज घटाउने हो । जब स्थिति यस्तो हुन्छ, तब मुलुकमा कम्युनिष्ट पार्टीको भविष्य कसरी बाँकी हुन्छ र ? आ–आफ्नो स्वार्थका लागि अब मिले पनि नमिले पनि उनीहरूले पार्टी र आन्दोलनलाई यति हानी पुर्याइसके कि अब यो उठेर माथि जान सहज छैन । निश्चित छ, नेपालमा कम्युनिष्ट पार्टी सकिने दिनगन्ती सुरू भइसकेका छन् । किनकि, यसलाई सक्न पहिलो चरणमा कम्युनिष्ट चरित्र सकेर यसका नेता कार्यकर्ता पार्टी र आन्दोलन सक्ने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । आखिर नसकेर पनि के प्रयोजन रह्यो र ? आखिर पार्टी सत्तामा पुगेर पनि भएको त केही होइन । न जनताले सुख पाए, न मुलुकले समृद्धि । केही नेता र उनीहरूका जोजोम्यानले पद र पैसा पाए । आखिर कम्युनिष्ट पार्टी त त्यत्तिका लागि मात्र त होइन होला ?

नेपालका कम्युनिष्ट नेता, कार्यकर्ता र पार्टीहरू स्खलित भएको देख्दा कम्युनिष्टको दिन आओस् भनेर जिन्दगी बिताउने मानिसहरू निराश हुनुपर्ने स्थिति देखिए पनि एउटा कुरा भने निश्चित छ, त्यो के भने नेपालमा कम्युनिष्ट पार्टी सकिए पनि कम्युनिष्ट विचारधारा कहिलै सकिँदैन । कारण, त्यो विचारधारालाई माया गर्ने जनता नसकिनु हो । यसमा उनीहरूको बाध्यता पनि छ । किनकि, जबसम्म गरिबी हुन्छ, अभाव हुन्छ, अन्याय हुन्छ, अत्याचार हुन्छ, त्यहाँ प्रतिरोधका लागि कम्युनिष्ट बाँकी रहन्छ, सकिने भनेको भ्रष्ट कम्युनिष्ट नेता, कार्यकर्ता र तिनीहरूका पार्टी मात्र हुन् ।अहिले ओली गोर्भाचोभ मार्गमा छन्, उनलाई रोक्न प्रचण्ड–नेपाल प्रयत्नरत छन् । यो प्रयत्न सफल भए पनि अप्ठ्यारोमा पुगेको छ नेपालको कम्युनिष्ट राजनीति । सोभियत संघको कुरा त टाढा भयो, नजिकैको पश्चिम बंगाललाई हेरे पुग्छ, हामी त्योभन्दा भिन्न बाटो र गतिमा छैनौँ ।

प्रतिक्रिया दिनुहोस्