Logo
Logo

इलाममा फेब्रिकका झोला उत्पादन गरिँदै


630
Shares

मंगलबारे । प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन व्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेकोे हो ।

इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ । रु. ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकोमा उक्त समूहले रु. दुई लाख ४६ हजार र गाउँपालिको रु. दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए । यस्ता झोलाले वातावरण प्रदूषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ थियो । उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ ।

उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताए । पाथीभरा मन्दिर आसपासमा व्यापार गर्ने व्यापारी संगठित भई स्थापना गरिएको सो समूहले समुदायमा सचेतनामूलक कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए । यसैगरी समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै विपत्मा परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ छ ।

उत्पादित झोला व्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट व्यापारी तथा व्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्