Logo
Logo

क्यासिनोमा प्रहरी सेटिङ



काठमाडौं । हाल देशभरी धमाधम नयाँ क्यासिनो खुलिरहेका छन् । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ, विदेशी पर्यटक खासै आएका छैनन्, यस्तो अवस्थामा क्यासिनो कसरी चलेका छन् ?

गत साता अलफ्ट होटलस्थित क्यासिनो वाल्डोको घटनाले यसलाई प्रष्ट पारेको छ । भारतीय नागरिक भनेर क्यासिनोमा नेपाली जुवाडेहरुकै भरिभराउ हुने गरेको छ । प्रहरीसँग समेत सेटिङ मिलाएर यसरी क्यासिनोहरुमा नेपालीलाई जुवा खेलाइदै आएको स्रोत बताउँछ । सेटिङ नभएका क्यासिनोमा प्रहरीले छापा हान्ने गरेको छ । होटल अलफ्टको क्यासिनोको प्रहरीसँग कुरा नमिलेकाले छापा हानेको हो । काठमाडौंका अन्य सबै जसो क्यासिनोमा हाल नेपाली भरिभराउ छन् ।

भारतीय भएको देखाउन नक्कली रासनकार्ड बनाएर यसरी छिराउने गरिएको छ । क्यासिनो सञ्चालन नियमावलीअनुसार क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदा सञ्चालक पनि दोषी हुने र क्यासिनोको इजाजत नै रद्द हुनेसम्मको प्रावधान भएपनि सो क्यासिनोका सञ्चालकलाई भने काठमाडौं प्रहरीले पक्राउ गरेको छैन । सीमा क्षेत्रका मिनि क्यासिनोमा त झै खुलेआम नेपाली जाने गरेका छन् ।

नेपालगञ्जको ह्याप्पी आवर, ब्याली लगायतमा प्रहरी सेटिङमा नेपालीले जुवा खेल्दै आएका छन् । बाँकेका एसपी श्यामकृष्ण अधिकारीले क्यासिनोमा जुवा खुला गरेका छन् । झापाको धुलाबारीस्थित मेची क्राउन प्लाजामा पनि पूर्व जुवाडेहरु जम्मा हुने गरेका छन् । क्यासिनो किङका नामले चिनिने बलराम सापकोटाले त्यहाँ क्यासिनो चलाएका छन् । त्यसबारे उजुरी परेपनि एसपी विश्वमणि पोखरेलले चासो नदिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्