Logo
Logo

नेल लगाउन निर्देशन दिनेलाई कारबाही गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका छन् ।
विर अस्पतालमा उपचारत चौधरीको खुट्टामा नेल सहित उपचार गरिरहेको फोटोसहित समाचार आएसँगै प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् । सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा समेत विरोध भइरहेको थियो ।
प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न रेग्मीलाई भनेका छन् । ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकारविरुद्ध भएको बताएका छन् ।
फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो । चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको थियो । दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित ९ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्