सुनसरी । आसन्न स्थानीय तहको निर्वाचनमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ । सुनसरी जिल्लामा तालमेलको निर्णय गर्न कांग्रेस सचिव विरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेको कार्यदल समेत गठन भएको छ ।

कार्यदलले आगामी स्थानीय तह निर्वाचनमा वस्तुगत अवस्थाको अध्ययन गरि चैत २६ गतसम्म प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । गठबन्धनमा आबद्ध पाँच दलको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।
पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार–प्रसार गर्ने सहमतिसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको गठबन्धको बैठकले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रशाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले संयुक्त विज्ञप्तिमार्फत गठबन्धनको घोषणा गरेका हन् ।












