Logo
Logo

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता


756
Shares

चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री– २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रधानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको रोहवरमा विद्यालयका प्रधानाध्यापक, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो ।

सामग्री सार्वजनिकसँगै हरेक विद्यालयका प्रधानाध्यापकलाई पुस्तकसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्लो समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामग्री तयार गरिएको बताइन् । उनले भनिन्, “यो पुस्तक अपराध नियन्त्रणका लागि महत्वपूर्ण बन्ने छ ।” पछिल्लो दिनमा विद्यालयमा हुने गरेका यौन हिंसाका घटना र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विद्यालयका प्रधानाध्यापकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको उनको भनाइ थियो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताइन् । समाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पुर्याउनु महत्वपूर्ण काम भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गरे । विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिकारीले बताए ।

अहिले ठूलो संख्यामा बालबालिका लागुऔषधको प्रयोगकर्ताका रूपमा रहेको भन्दै उनले यसलाई रोक्नका लागि प्रहरी–विद्यालय सम्पर्क समिति गठन गर्नसमेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्