गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ साल यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताए । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता कायम हुने धारणा पनि व्यक्त गरे । यसैगरी, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ वर्ष २०७९ उत्साहको वर्ष हुने अपेक्षा गर्दै आसन्न निर्वाचन भयरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उनले दलहरूबीचको एकता आगामी वर्षमा अझै बलियो बन्ने विश्वास व्यक्त गरे । शुभकामना आदान–प्रदानले सत्तपक्ष तथा प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउने र आपसी सद्भाव एवं भाइचारा अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे । त्यस्तै, प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नयाँ वर्ष राजनीतिक उत्सवको वर्ष बन्ने र संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि यो वर्ष सफल हुने धारणा व्यक्त गरे । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यले नयाँ वर्षले सबैमा उमंग ल्याउने अपेक्षा गरे ।











