
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएसँगै मन्त्रिपरिषद हेरफेर भएको छ ।
सुदूरपश्चिम सरकार पुनःगठन भएको लामो समयसम्म सरकारमा सहभागी नभएको कांग्रेस स्थानीय तह निर्वाचनको आचार संहिता लागू हुनुभन्दा केही घण्टा अगाडि मात्र दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो ।
कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका छन् । त्यस्तै, टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी हुनेछन् ।
कांग्रेस सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु बाहिरिने भएका छन् । सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना साउद विदा हुने भएका हुन् ।












