Logo
Logo

लाखौँलाई रोजगारी दिने अमेरिकी प्रस्ताव प्यालेस्टाइनद्वारा अस्वीकार


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, ८ असार (एएफपी) । संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ ।
यही साता बहराइनमा आयोजना गरिने सम्मेलनमा सार्वजनिक गरिने उक्त योजनाबाट एक दशकभित्र दश लाखभन्दा बढी रोजगारी सिर्जना गरिने बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनीका लागि अभूतपूर्व लगानी जुट्ने विश्वास गरेको छ । साथै, पश्चिमी किनारा र गाजापट्टीको पूर्वाधार, शिक्षा र आन्तरिक सुशासनमा नाटकीय रुपमा सुधार आउने अपेक्षा पनि गरिएको छ ।
राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुश्नरको नेतृत्वमा खासगरी प्यालेस्टाइन समस्याको दिर्घकालीन समाधान खोज्न अमेरिकी नीति तय गर्ने जिम्मेवारी दिइएको थियो । सोचेभन्दा निकै ढिलो सार्वजनिक गर्न लागिएको यस नीतिमा राजनीतिक विषयलाई भने थाँती राखिएको छ ।
तर प्यालेस्टिनी सरकारले भने बहराइनको कार्यशालामा सहभागिता नजनाउने घोषणा गरेको छ । प्यालेस्टिनीहरुले कुश्नरको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई पैसाको लोभ देखाएर खरिद गर्न खोजेको आरोप लगाएका छन् । प्यालेस्टिनीहरुले स्वतन्त्र राज्य बाहेक अन्य कुनै पनि कुरा अमेरिका वा इजरायलसँग सौदाबाजी नगर्ने जनाएका छन् ।
ह्वाइट हाउसले भने हाल अघि सारिएको योजना प्यालेस्टिनी जनताका लागि आजसम्मकै सबैभन्दा महत्वाकाँक्षी र ठोस अन्तर्रा्ष्ट्रिय प्रयत्न भएको बताएको छ । उक्त योजनाका बारेमा बहराइनमा खाडी क्षेत्रका सम्पन्न मुलुकका अर्थमन्त्रीहरुबीच अझ विस्तारमा छलफल हुँदैछ ।
संयोजक कुश्नरले जारी गर्नुभएको वक्तव्यमा ‘समृद्धिका लागि शान्ति’ नारा दिइएको यो योजना प्यालेस्टिनी जनताको उज्ज्वल र समृद्ध भविष्यका निम्ति महत्वपूर्ण रहेको उल्लेख छ ।
ह्वाइट हाउसले प्यालेस्टिनी जनताका निम्ति एक दशकभित्र ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिने जनाएको छ । यसबाट प्यालेस्टाइनको खूद गार्हस्थ्य उत्पादन दोब्बर हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय दाताबाट संकलन गरिने रकमको व्यवस्थापन बहुराष्ट्रिय विकास बैंक मार्फत गरिने छ, र यो रकम प्यालेस्टिनी सरकारलाई सोझै दिइने छैन । वरिष्ट प्यालेस्टिनी अधिकारी हनान अश्रावीले उक्त योजना अस्वीकार्य रहेको बताए । उनले संयुक्तराज्य अमेरिकाले प्यालेस्टिनीको भलाईका लागि बरु इजरायलमाथि दबाब दिनु उचित हुने बताए ।
उनले भने, ‘गाजाको घेराबन्दी इजरायलले हटाओस्, हाम्रो जमिन, स्रोतसाधन र रकम खोस्ने काम इजरायलले बन्द गरोस्, हामीलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवसर देओस् । यति गरिए प्यालेस्टाइन आफैं सक्षम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्