Logo
Logo
साहित्य

भ्यू टावर


देवराज कार्की ‘मिलन’


प्रकृतिको चप्लेटी ढुङ्गा
रमिते डाँडाबाट देखिने
घंगरु, चुत्रो, ऐसेलु, गुयली
लटरम्म फलेको अलौकिक दृश्य
गुराँस, भैरम्पाती, चिमाल, सुनाखरीले
सुशोभित कहिल्यै नअघाउने
नयनका दृश्यपान
तिम्रो कृत्रिम बनावटी
भ्यू टावर बाट देखिन्छ ?

खोला बगरमा मेरी आमा
स्यानो नानी पिठ्युँमा बोकि
भोको पेट लिएर
गिट्टी कुट्दै गरेको
तिम्रो नक्कली भ्यू टावरबाट
कारुणिक दृश्य देखिन्छ ?

सुत्केरी हुन नसकेर
दुर्गम गाउँमा
मृत्युसँग जुझ्दै
छट्पटीमा रहेकी
दिदीबहिनी र भाउजूलाई
अस्पताल पुर्याउने
एयर एम्बुलेन्स बन्न सक्छ
तिम्रो भ्यू टावर ?

गरिबीको मजाक उडाउँदै
दुर्गम गाउँमा ठिङ्ग उभिएर
त्यो तिम्रो अर्बौँको
कथित भ्यू टावरबाट
तिमी के दृश्य पान गर्छौ
गरिबी, बेरोजगारी, भोखमरी
बिरामी, रोगी, बिकलाङ्कहरु
अस्पताल जान नसक्ने अशक्त
एम्बुलेन्स जान नसक्ने सडक
के देखिन्छ
तिम्रो त्यो बिकासे छलाङ
तिम्रो १० तले भ्यू टावरबाट ?

अस्पताल बनाएको भए
गरिबले उपचार पाउँथे
स्कुल निर्माण गरेको भए
गरिबका छोराछोरी पढेर
शिक्षित हुन्थे
गाडी चल्ने सडक
गाउँमा पुर्याएको भए
कृषि उपज बजारमा पुग्थे
किसान समृद्ध बन्थे
लौ भन तिम्रो त्यो भ्यू टावरले
जनताका लागि
देश समृद्धिका लागि
के दृश्य देखायो ?

रमिते डाँडा
चप्लेटी ढुङ्गा
माने भञ्ज्याङको थुम्को
प्रकृतिले बनाएको
भ्यू टावरभन्दा ज्यादा
तिमी निर्मित भ्यू टावरले
के नयाँ दृश्यपान गरायो
आडम्बरभन्दा बढी
देखावटीभन्दा ज्यादा
आर्थिक दुरुपयोग गर्ने
तिम्रो षड्यन्त्रभन्दा धेरै
तिम्रो भ्यू टावर केही होइन
त्यसको कुनै औचित्य छैन ।

२२ चैत्र २०७८, काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्