काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा समिक्षा बाँस्कोटा विवेकशील साझा पार्टीबाट उम्मेदवार बन्ने भएकी छन् । त्यस्तै, सो पार्टीबाट उक्त महानगरको उपप्रमुखमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

विवेकशील साझाको सोमवार बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई प्रमुख र उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष रवीन्द्र मिश्रका अनुसार ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनस्र्थापित गरौँ” भन्ने नारासहित दुईजना महिला उम्मेदवारलाई अघि सार्ने निर्णय भएको हो ।बाँस्कोटा सो पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय सदस्य छिन् । ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
त्यसैगरी, तुलाधर उक्त पार्टीकी केन्द्रीय सदस्य हुन् । नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन् । उक्त पार्टीका अनुसार दुवै उम्मेदवारले आफ्नो संयुक्त घोषणापत्र छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दैछन् । घोषणापत्र मूलतः ७ वटा बुँदाहरूमा केन्द्रीत हुने पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनस्र्थापना, सफा र व्यवस्थित काठमाडौं, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा घोषणा पत्रमा समेटिने उनको भनाइ छ । विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सके देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले लिएका छन् ।
बाँस्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्ने जनाइएको छ ।












