Logo
Logo

अण्डामा विचौलिया पूँजीवाद र नेकपा सरकार


- दृष्टि न्युज/संवाददाता


अण्डा उत्पादक किसानहरुले वजार मूल्यको केवल ५० प्रतिशत मात्रै मूल्य पाउने गरेको तथा वाँकि ५० प्रतिशत मूल्य विचौलिया व्यापारीहरुले लिने गरेको छ । जसले मेहनत गरेर रात दिन नभनि पसिना वगाएर कुखुरा पालन गर्छन्, ती किसानहरुले केवल वजार मूल्यको ५० प्रतिशत मात्रै पाउनु भनेको विचौलिया पूँजीवादको पराकाष्ठा हो ।

ती किसानहरुले आफ्नो पूँजी र श्रम लगाएर तथा पूँजी डुब्ने खतरा मोलेर कुखुरा पालन गरिरहेका छन् । उनीहरुले लाखौं युवाहरुलाई रोजगारी दिइरहेका छन् । तर उनीहरुले आफ्नो लगानी अनुसार पाउनुपर्ने प्रतिफल पाइरहेका छैनन् । एउटा अण्डाको करीव ७ रुपैयाँ ती उत्पादक किसानहरुले पाइरहेका छन् । यसवाट उनीहरुको न्युनतम लागत समेत उठ्न कठिन छ । वजारमा उपभोक्ताले १५ रुपैयाँ सम्म मूल्य तिरिरहेका छन् । आधा रकम विचौलियाहरुले कमाइरहेको स्थितिले यस क्षेत्रको चरम वेथिति देखाएको छ ।

उत्पादकहरुले वास्तविक मूल्य नपाउँदा यहाँ अन्य क्षेत्रमापनि समस्या देखिएको छ । औद्योगिक उत्पादन घट्न थालेको छ । कूल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान १० प्रतिशतवाट घटेर ५ प्रतिशत पुगेको छ । तरकारी उत्पादक किसानहरुको पनि यस्तै समस्या छ । उनीहरुले वजार मूल्यको आधा हिस्सापनि पाइरहेका छैनन् । विचौलिया पूँजीवादले जताततै दोहोरो चरम शोषण गरिरहेको छ । एकातिर उत्पादकहरुको शोषण भैरहेको छ भने अर्कोतिर उपभोक्ताहरुको शोषण भइरहेको छ ।

तर नेकपा सरकार मूक दर्शक वनेको छ । विचौलिया पूँजीवादले गर्दा उत्पादन वृद्धिमा समस्या आउनु, उत्पादक पूँजीवादको मृत्यु हुन थाल्नु, व्यापार घाटा तीब्र वन्न थाल्नु जस्ता समस्या चर्कन थालेको छ । तर सरकारले विचौलिया पूँजीवादलाई नियन्त्रण गर्ने तर्फ कुनै ठोस पाइला चालेको छैन । सरकार आफै विचौलिया पूँजीवादको पृष्ठपोषक वन्न थालेको छ ।

यदि समय मै कुखुरा पालन क्षेत्रमा विचौलिया पूँजीवादलाइ नियन्त्रण गर्ने तर्फ सरकारले ठोस कदम चालेन भने नेपालको आत्मनिर्भर अण्डा उत्पादन क्षेत्रपनि धराशायी हुनेछ । नेपाल अहिले अण्डा र कुखुराको मासुमा आत्मनिर्भर छ । यसलाई धराशायी गर्न विदेशी पूँजीपतिहरु र उनका दलालहरुले अनेकौ षदयन्त्र गर्दै आएका छन् । वेला वेलामा विदेशी अण्डा र चल्ला ठुलो परिमाणमा तश्करी गरेर भित्र ल्याउने काम भैरहेको छ । तर सरकारले त्यसलाई नियन्त्रण गर्ने तर्फ पनि लागेको देखिन्न ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्