Logo
Logo

काठमाडौं प्लाजामा १३ करोड गुम्यो


2.3k
Shares

काठमाडौं । नेपाल ट्रष्टको मुख्य आम्दानीको स्रोतमध्ये प्रमुख कमलादीस्थित काठमाडौं प्लाजा हो । तर, त्यहाँबाट विगत २२ महिनादेखि ट्रष्टले भाडा पाउन सकेको छैन । यो अवधिमा उसले करिब १३ करोड रुपैयाँ गुमाएको छ । हाल भवन खाली छ ।

दुई वर्षअघि काठमाडौं महानगरपालिकालाई मासिक करिब ६० लाख रुपैयाँ भाडामा दिने सहमति भएपनि मुद्दा मामिलाका कारण सम्झौता हुन सकेन । हाल मुद्दा टुंगिए पनि भाडामा लगाउन सकिएको छैन ।

लिजमा लिएर सञ्चालन गर्दै आएको कन्सेप्ट डेभलपर्ससँगको सम्झौता अवधि २ असार २०७७ मा सकिएको थियो । सम्झौता अवधि सकिएको १० महिनापछि बल्ल ट्रष्टले भवन खाली गराएको थियो । भवन खाली गराएर पनि ट्रष्टले भाडामा लगाउन सकेको छैन ।

अदालतले काठमाडौं महानगरपालिकासँग सम्झौता नगर्न आदेश दिएको थियो । तर, पनि अन्तरिम आदेशले निरन्तरता नपाएपछि भवन भाडामा लगाउनेतर्फ सञ्चालक समितिले चासो दिएको छैन ।

कन्सेप्ट डेभलपर्सका पूर्व सञ्चालक सुवासराज काफ्लेले अदालतमा दायर गरेको रिटमा उच्च अदालत पाटनले तत्काल महानगरपालिकासँग सम्झौता नगर्न भनेको थियो ।

नयाँ भाडा लागू हुन नसक्दा महिनामै ट्रष्टलाई ६० लाख रुपैयाँ घाटा भइरहेको छ । २०७७ को असारदेखि नै महानगरपालिकालाई भाडामा दिने ट्रष्टको तयारी थियो ।

कन्सेप्ट डेभलपर्सले करिब १० महिनाको भाडा समेत ट्रष्टलाई बुझाएको छैन । उसले वार्षिक ७५ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो ।

हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट समूहले नेपाल ट्रष्टको सम्पत्तिमा आँखा लगाउँदा पनि समस्या भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्