काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ ।

प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, पहाडी भू–भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य ठाउँको मौसम राति सामान्यता सफा रहने जनाइएको छ । त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।














