Logo
Logo

प्रदेश नं. १ को नामाकरण यसै वर्ष टुंगिनेछ : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ सालको अवसरमा प्रदेश नं. १ सहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । नव वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना व्यक्त गर्दै नयाँ वर्ष थप सुखद र उपलब्धिमूलक बन्न सकोस् भनी कामना गर्दछु ।”

“नयाँ वर्ष २०७९ मुलुकमा संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि हो । यस वर्षको सुरुवाती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको छ । यो वर्ष प्रदेश र संघीय संसदको कार्यकाल समाप्त हुने वर्ष पनि हो । आवधिक रूपमा जनताको अभिमत संकलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ । सोहीअनुसार हुने निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्दछ । यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्दछु ।”, सन्देशमा उनले लेखेका छन् ।

मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, “हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतित भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धिमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौँ । प्रदेश नं. १ को नामाकरण गर्न थाँती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु । प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं. १ को नामाकरण यसै वर्षमा टुंगिने विश्वास पनि व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्