Logo
Logo

सबै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकून : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईवासी आदिवासी समुदायको महान् पर्व सिरुवाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । पर्व विशेष शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश नं. एकसहित देश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गरेका हुन् ।

“नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले, सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।”, सन्देशमा मुख्यमन्त्री राईले भनेका छन् । जारी सन्देशमा भनिएको छ, “हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सिरुवा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

सिरुवा पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । प्रदेश नं. १ का झापा, मोरङ सुनसरी, उदयपुरसहित सप्तरी, सिरहालगायत जिल्लामा सिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरिन्छ । गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भन्ने मान्यताका साथ यस पर्वलाई ‘जुडशीतल’ पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गर्दछ ।

यो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरक–फरक दिनमा लाग्ने गर्दछ । सिरुवा पर्वमा मेला लाग्ने स्थानमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शीरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्