Logo
Logo

ढिस्कोले पुरिएर एक जनाको मृत्यु



पाँचथर । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुंगानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो ।

फिदिम नगरपालिका–१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुंगानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो । दुई वटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुंगानाको उद्दार गरी जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्दार गरेका थिए ।

मृतक ढुंगाना सेवानिवृत्त शिक्षक हुन् । उनले लामो समय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए । ढुंगाना नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ सल्लाहकार कमिटीको सदस्यसमेत थिए । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्