Logo
Logo

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम



गण्डकी । पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा. डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिएका थिए ।

पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा. डा. प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेष र घृणा छाड्नुपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने र एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवेयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ–नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिष्कलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे । प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धन सम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकाले उसले आफैँले आफूलाई चिन्न नसकेको तर्क राखे ।

उनले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गरे । डा. योगीले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकाले यसको प्रतिष्ठा अभिवृद्धि, सहयोग र सहकार्यका लागि आफू सधैँ लागिपर्ने बताए । अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घजीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गरे । उनले योगा, भोजन शुद्धि, वाणी शुद्धि, परिवेश शुद्धि र सोचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताए ।

उनले लाफिङ थेरापी, मेडिटेशन र विभिन्न योगा विधिकाबारेमा अभ्यास प्रदान गरेका थिए । पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक दीपकराज पौडेल, डा. अर्जुनकुमार थापालगायतले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने र जिम्मेवारी निर्वाह गर्नु पनि तनाव व्यवस्थापनको एक पाटो भएको बताए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलगायत लगभग २ सय जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्