Logo
Logo

एकीकृत समाजवादीबाट इटहरी-४ मा अध्यक्ष सिफारिस भएकाहरु के भन्छन् ?



काठमाडौं । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशले संघीयताको अभ्यास थालेयता दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

यसैक्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा एक महिलासहित ४ जना सिफारिसमा परेका छन् । सो पार्टीका प्रदेश कमिटी सदस्य डाक्टर खगेन्द्र ओली, झलक वन, इटहरी सह इञ्चार्ज रमेश खत्री र मनकुमारी राई सिफारिसमा परेका हुन् ।

आगामी पाँच वर्षे अवधिका लागि वडा नम्बर ४ को नेतृत्वका लागि पार्टीले सिफारिस गरेका उम्मेदवारहरु आफ्नो भावी योजनाबारे यसो भन्छन् ।

रोगी देशलाई निको पार्न राजनीतिमा होमिएको हुँ : डा. खगेन्द्र ओली

लामो समयसम्म बिरामीको सेवामा समर्पित डा. खगेन्द्र ओली आफ्नो सेवामूलक व्यवसायसँगै राजनीतिमै छन् । राज्यको समग्र व्यवस्था सञ्चालन गर्ने मूल नीति नै राजनीति भएकाले रोगाएको देशलाई ओखतीमूलो गरी निको पार्न राजनीतिमा होमिएको उनी बताउँछन् ।

राजनीतिक चेत भएका उर्जाशील युवा उनी वडा नं. ४ को नेतृत्वका लागि सिफारिसमा परेपछि विशेषगरी युवा वर्ग हौसिएका छन् । इटहरीलाई कर्मथलो बनाएका ओली स्थानीयस्तरमा लोकप्रिय युवामध्येमा पर्छन् ।

राजनीतिलाई विशुद्ध सेवा ठान्ने होमियोप्याथी विधाका लोकप्रिय डा. ओली आफू वडाको नेतृत्वमा आए वडावासीको मुटु, किड्नी र क्यान्सर रोगको स्क्रिनिङ टेस्ट गर्ने बताउँछन् । ती रोगको बेलैमा पहिचान गरेर त्यही रोगकै कारण वडावासीको मृत्यु हुन नदिने उनको लक्ष्य छ ।

नसर्ने रोगलाई निर्मुल गरेर वडाको मृत्यु दर घटाउने उनको उद्देश्य उनले राखेका छन् । गरिव समुदायमा निःशुल्क इन्स्योरेन्स, बाढी प्रकोपको समाधान, वडामा कूलतमा फँसेकाहरुलाई त्यसबाट मुक्त गरेर पुनर्जीवन दिएर रोजगारीतर्फ उन्मुख गराउने, वडामा खुल्ला जिमको व्यवस्था गर्ने, सीपमुलक तालिम दिएर दक्ष बनाउने, हरेक वर्ष वडाका ५ जनालाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरी रोजगारी प्रदान गर्ने डा. ओलीको योजना छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क तालिमको प्रबन्ध गर्ने, कृषक वर्गले उत्पादन गरेका कृषिजन्य सामग्री वडाले खरिद गर्ने, कृषि औजारहरु परिचालन गरेर कृषिलाई व्यावसायिकरण गर्ने योजना कार्यान्वयन गर्ने उनको छ ।

पछिल्लो समय बहुसंख्यक नेपालीको मृत्युको कारक बनेका मुख्य रोगहरु किड्नी, मुटु र क्यान्सरलाई परास्त गर्न आफू सक्षम रहेको ओलीको भनाइ छ । देशको नेतृत्व तहमा युवा वर्गको खाँचो भएकाले पनि आफू नेतृत्वमा आउने डा. ओली गर्छन् ।

आफ्नो वडालाई देशकै नमूना बनाउँछु : रमेश खत्री

इटहरीका सामाजिक अगुवा रमेश खत्री वडा नम्बर ४ लाई देशकै नमूना वडाका रुपमा विकास गरेर अगाडि बढ्ने योजना रहेको बताउँछन् । स्थानीय सरकारको ५ वर्षे कार्यकालको समीक्षा गर्दा उदाहरण योग्य काम नगरेको र भौतिक संरचना र दलीय स्वार्थका कारण वडावासीको अपेक्षा पूरा नभएको बताउँदै उनले आफूले नेतृत्व पाए वडावासीका अधुरा कामलाई समयमै फत्ते गर्ने बताउँछन् ।

शिक्षा, स्वास्थ्य र सुकुम्बासीका समस्याहरु चुनावमा भोट माग्न मात्र सीमित भएको भन्दै खत्रीले यी र यस्ता अन्य समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्न आफू सक्षम रहेको बताए ।

विदेशमा सिकेको सीपलाई वडामै उपयोग गर्छु : झलक वन

राजनीतिक परिवर्तन अबको आवश्यकता भएको बताउने झलक वन निजी स्वार्थ र दलीय लोभबाट माथि उठेर जनताको हक हितमा आफूलाई समर्पित गर्न वडाको नेतृत्व गर्न चाहेको बताउँछन् । बोलीले नभई कामले इटहरी ४ को मुहार फेर्ने उनको भनाइ छ ।

१८ वर्षसम्म विदेशमा आर्जन गरेको सीपलाई आफ्नै वडामा उच्चतम उपयोग गरी आफ्नो वडालाई हरेक कुरामा आत्मनिर्भर बनाउने धोको उनको छ । खोला दोहन, गैरकानुनी रुपमा भएका उत्खनन् र नालालाई व्यवस्थित गर्ने उनको उद्देश्य छ । राजनीतिलाई फोहोरी खेल भन्नेहरुका लागि एक उदाहरणीय पात्र बनेर उभिने प्रण वनले गरेका छन् ।

वडावासीको सर्वोपरी हितमा समय खर्चिन्छु : मनकुमारी राई

जनताले जिताएका जनप्रतिनिधि नै जनताप्रति समर्पित हुन नसक्दा कतिपय ठाउँमा जनताले सास्ती खेप्नुपर्ने अवस्था रहेको बताउने मनकुमारी राई आफू नेतृत्वमा आए यस्ता समस्यालाई सधैँका लागि अन्त्य गर्ने बताउँछिन् । वडाका काममा जनप्रतिनिधिकै कारण ढिलासुस्ती हुने परिपाटी अझै पनि रोकिन नसक्दा वडावासी आजित भएकाले जनताको सेवकका रुपमा काम गर्ने उनी बताउँछिन् ।

शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासका पूर्वाधारलाई प्राथमिकता दिएर अघि बढ्ने योजना राईको छ । जनताका सम्भव हुने काममासमेत स्थानीय सरकार चुक्दै आएको बताउने उनी यस्ता वेथितिलाई निरुत्साहित गर्न आफू सक्षम रहेको बताउँछिन् । आफूले वडावासीको मन जितेकाले अब मत मात्र जित्न बाँकी रहेको राईको भनाइ छ । आफू निर्वाचनमा मतका लागि मात्र नभई वडाको मुहार फेर्ने संकल्प लिएर राजनीतिमा अग्रसर बनेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्