Logo
Logo

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व संकलन


441
Shares

खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु. ३९ लाख ५२ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजस्व संकलन भएको हो ।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा रु. दुई लाख ६३ हजार, भदौमा रु. चार लाख ४४ हजार, असोजमा रु. चार लाख सात हजार, कात्तिकमा रु. ६ लाख ५३ हजार, मंसिरमा रु. सात लाख दश हजार, पुसमा रु. तीन लाख ७८ हजार, माघमा रु. तीन लाख ७९ हजार, फागुनमा रु. तीन लाख ६३ हजार र चैतमा रु. तीन लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै, जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्