Logo
Logo

कालिञ्चोक भगवती दर्शन : एक अनुपम अनुभव



नेपाल सानो देश भए पनि यहाँ पाइने विभिन्न अनुपम दृश्यहरूले विश्वलाई नै आकर्षण गरेको देखिन्छ । विश्व मानचित्रमा नेपाल अति कम विकसित मुलुकमा गनिए पनि यहाँको विविधताले एक अनौठो सन्देश दिएको छ ।

समुद्र सतहदेखि ७० मिटरको उचाइबाट बढ्दै गएको विश्वको सर्वोच्च ८८४८.८६ मिटरको उचाइ यही सानो १४७१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको देशमा पर्दछ । विभिन्न किसिमका जातजाति वेषभुषा, धर्म–संस्कृति भएको हुनाले पनि नेपाल विश्वमा चीरपरिचित हुन पुगेको छ । यसमा पनि सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथाको आरोहण तेन्जिङ शेर्पाले गरेबाट झनै नेपालको छवि उच्च हुन गएको छ ।

नेपाललाई चिनाउने विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदामध्ये कालिञ्चोक भगवती धार्मिकस्थलले ज्यादै महत्वपूर्ण स्थान लिएको पाइन्छ । यो मन्दिर नेपालको दोलखा जिल्लाको मध्यभागमा अवस्थित छ । यस कारणले गर्दा पनि कालिन्चोक भगवतीको दर्शन गर्न सबै नेपालीलाई सहज भएको छ ।

कालिञ्चोक भगवतीको मन्दिर परापूर्वकालदेखि नै हिन्दूहरुका लागि निकै महत्वपूर्ण मानिँदै आएको हो र अहिले त यातायातको सुविधाले गर्दा दर्शन गर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्था छ । त्यसैले गर्दा यस क्षेत्रको विकासका लागि पर्यटनबाट हुने आम्दानीले ठूलो योगदान दिँदै आएको छ ।

काठमाडौँदेखि करिब १२५ किलोमिटर पूर्वमा रहेको दोलखा जिल्लामा पर्ने कालिञ्चोक मन्दिरको प्रचार–प्रसार बढ्दै गएको हुँदा यसको भविष्य निकै राम्रो हुँदै गएको सर्वसाधारणले बताउँदै आएका छन् । दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिञ्चोक भगवतीको मन्दिर पुग्न विगतमा निकै कठिन भए पनि अहिले भने त्यति कठिन देखिँदैन ।

किनभने, त्यहाँसम्म पुग्नका लागि सार्वजनिक यातायातको सुविधा नभए पनि निजी तथा भाडाका सवारीसाधन उपलब्ध हुने हुँदा जो–कोहीलाई पनि सहजताको अनुभव हुने नै भयो । तर त्यहाँ पुग्ने सडकको अवस्था ज्यादै दयनीय भएको हुँदा दर्शनार्थीका लागि भने समस्या नै देखिन्छ । अर्को कुरा वर्षाको समयमा बाटो बन्द हुने हुँदा भक्तजनहरूका लागि त्यहाँ पुग्न त्यति सहज हुँदैन ।

यो १७ किलोमिटरको बाटो पार गर्न करिब एक घण्टा लाग्दोरहेछ । कच्ची बाटो त्यसमा पनि अव्यवस्थित किसिमबाट निर्माण गरिएको हुँदा विभिन्न ठाउँमा खाल्डाखुल्डी देखिन्छन् नै । कतिपय स्थानमा त यातायातका साधन गुड्न नसकेर फसेर बसेका पनि देखिन्छन् । तर जे–जसरी भए पनि भक्तजन तथा पर्यटक भने पुगेकै हुँदारहेछन् ।

चरिकोटबाट कालिञ्चोक मन्दिरसम्म यात्राको दौरानमा बाटोमा बस्ती भने देखिँदैन । यो सडक स्थानीय बासिन्दाका लागि नभई केवल तीर्थयात्री र पर्यटकलाई केन्द्रविन्दु बनाई निर्माण गरिएको रहेछ । ठूलो संख्यामा तीर्थयात्री र पर्यटक जाने हुँदा उनीहरुको सहजताका लागि सडकको स्तरोन्नति अविलम्ब गर्नुपर्ने बुझाइ सबैको भएको पाइन्छ ।

यस्तो कठिन सडकको यात्रा गर्दै जाँदा बाटोमा देखिने लालीगुराँसका फूलहरुको मनमोहक दृश्यले कसको मन नछोला र ? जति उकालो चढ्दै गयो उति नै मात्रामा विभिन्न रङका लालीगुराँसका फूलहरु ढकमक्क फक्रिएका देखिन्छन् । कुनै एकदम राता रङका छन् भने कुनै सेता रङका देखिन्छन् ।

यहाँ पाइने लालीगुराँसका फूलहरुको एउटा अनौठो विशेषता भनेको एउटै फूलमा पनि रातो, कलेजी र सेतो रङ भएका हुँदारहेछन् । कुनै निख्खर रातो, कुनै एकदम सेतो र कुनैमा भने सबै रङको मिश्रण भएको हुँदा मन त त्यसै रमाउँदोरहेछ ।

वनभरि हेरी राखुमात्र लाग्दोरहेछ । उच्च पहाडी भूभाग भएको हुँदा यहाँ ठूला–ठूला रुख भने हुँदा रहेनछन् । अधिकांश भूभाग साना–साना बोटबिरुवाले भरिएका देखिन्छन् । बाटोमा पर्ने अरु बोटबिरुवा रुखभन्दा अधिकांश मात्रामा लालीगुराँसका रुखहरु नै देखिन्छन् । जता नजर, उतै लालीगुराँस ।

चरिकोटबाट करिब १७ किलोमिटर पार गरेपछि कुरीगाउँ पुगिँदोरहेछ । यो गाउँ यति रमाइलो रहेछ कि वर्णन नै गर्न सकिँदोरहेनछ । कालिन्चोक भगवती मन्दिरबाट तल पर्ने कुरीगाउँ निकै मिलेको बस्ती रहेछ । भर्खरै निर्माण गरिएका आधुनिक घरहरुले निकै सोभा दिएका देखिन्छन् । चरिकोटबाट आएका सबै सवारीसाधन यही आएर रोकिने हुँदा गाडीहरुको ताँती नै देख्न पाइन्छ ।

यहाँ निर्माण गरिएका जतिनै घरहरु छन्, ती सबै व्यापारिक प्रयोजनका लागि नै बनेका देखिन्छन्, किनकि सबैजसो घरमा होटल, लज र रेष्टुरेण्ट लेखिएका देखिन्छन् । यो कुरी गाउँको मुख्य आयस्रोत भन्नु नै पर्यटन व्यवसाय रहेछ । यो ठाउँको आकर्षण बढ्नुमा मुख्यरूपमा यहाँबाट अघि बढ्ने सडक रहेनछ । जति पनि भक्तजन तथा पर्यटक आउँछन् ती सबै नै यही नै केही समयको लागि भने पनि रोकिनु नै पर्ने रहेछ ।

यो ठाउँ उच्च पहाडी डाँडाको फेदीमा भएको हुँदा यही ठाउँबाट कालिञ्चोक भगवती माताको दर्शन गर्न जाने एक मात्र बाटो रहेछ र अरु बाटाहरु रहेनछन् । पैदल जानेहरुका लागि बाटो भए पनि त्यो निकै ठाडो उकालो भएकाले कठिन पनि रहेछ । त्यसकारण यो पैदल बाटो प्रयोग गर्ने भक्तजन तथा पर्यटक भेट्न मुस्किलै पर्दोरहेछ ।

भगवतीको मन्दिर पुग्न निकै कठिन भएको हुँदा त्यहाँ जानका लागि केबुलकारको निर्माण भएको रहेछ । करिब चार मिनट समय लाग्ने र यसको भाडा भने ५०० रुपैयाँ लाग्दोरहेछ । ज्येष्ठ नागरिक, विद्यार्थी, अपांगताजस्ता लक्षित वर्गलाई छुटको व्यवस्था गरिएको हुँदा यिनीहरुका लागि भने केही राहत पुगेको देखिन्छ नै ।

केबुलकारबाट ओर्लेपछि करिब १०–१५ मिनेटको पैदलयात्रापछि कालिञ्चोक भगवतीको मन्दिर पुगिँदोरहेछ । मन्दिरको अवस्थिति एकदम नै उच्च स्थानमा रहेको हुँदा गर्मीको समयमा पनि सधैँभरि चिसो र हुस्सु ढकमक्क लाग्दोरहेछ । कतिपय शारीरिक कमजोर भएकाहरूलाई भने लेक लाग्ने हुँदा अलि जोखिम पनि हुँदोरहेछ । कसैलाई लेक लाग्यो भने टिमुर, लसुन, अदुवाजस्ता घरेलु औषधि प्रयोग गरेको अवस्थामा श्वासप्रश्वासमा सहजता हुँदोरहेछ ।

त्यसकारण अधिकांश दर्शनार्र्थीहरूले यी घरेलु औषधि उपचारका विधि अपनाउँदा रहेछन् । जसबाट धेरैलाई सहज पनि हुँदोरहेछ । हामीहरु त्यहाँ जाँदै गर्दा कसैलाई पनि लेक लागेको थाहा भएन । सबैको यात्रा सहज नै देखियो । त्यसैले कालिञ्चोक भगवतीको दर्शन गर्न जानका लागि चिन्ता लिनुपर्ने देखिँदैन । तर, आफ्नो सजिलोका लागि केही घरेलु औषधि र न्याना लुगा लैजानु राम्रो हुनेछ ।

त्यहाँको मन्दिरको अवस्थिति हेर्दा अचम्म लागेर आउँछ । त्यस्तो अनकन्टार र निर्जन ठाउँमा कसरी मन्दिरको स्थापना भयो होला भन्ने कल्पना गर्न पनि सकिँदैन । मन्दिरको परिसर यस्तो रहेको छ कि मन्दिर रहेको ठाउँको क्षेत्रफल निकै साँघुरो छ । त्यही साँघुरो ठाउँमा धेरै देवी–देवताका मन्दिर स्थापना भएका छन् । मन्दिरको परिक्रमा गर्नका लागि सहज हुने गरी बाटो निर्माण पनि गरिएको छ । धुप, दीप गर्नका लागि सहजरुपले व्यवस्थापन पनि मिलाइएको पाइन्छ ।

मन्दिरको परिसरमा जुत्ताको व्यवस्थापन पनि राम्रोसँग गरिएको देखिन्छ । त्यसैगरी सरसफाइका लागि एउटा छुट्टै समिति पनि गठन भएको रहेछ र यो समितिले राम्रो गरेको हुनाले नै मन्दिरको परिसर सफा नै देखिन्छ ।

मन्दिरको परिसरमा रहेका विभिन्न देवी–देवताका फोटो खिच्न पाइए पनि मुख्य मन्दिरको फोटो खिच्न भने पाइँदोरहेनछ । किन नदिएको भन्ने जिज्ञासा राख्दा पहिलेदेखि नै बन्देज गरिँदै आएकाले नदिएको भन्ने जवाफ प्राप्त भयो । खास कारण भने जान्न सकिएन ।

अर्को कौतुहलको विषय भनेको त्यति अग्लो पहाडको टुप्पोमा करिब ३८४२ मिटर उचाइमा रहेको मन्दिर, त्योभन्दा माथि कुनै ठाउँ नै देखिँदैन, त्यहाँ कसरी पानीको कुण्ड भयो, धेरैलाई आश्चर्य लाग्नु स्वभाविकै हुन आउँछ । कुण्ड पनि मुख्य मन्दिरको बीच भागमा रहेछ । कसैले जल मागेमा लामो लौरीमा भाँडो अड्याएर पुजारीले जल उभाएर दिँदारहेछन् तर कुण्ड भने देखिँदोरहेनछ । कुण्डको खाली मुख भने सहजरूपमा देख्न सकिन्छ ।

भक्तजनहरूसँगै केही खैरा विदेशी पर्यटक पनि देखिएका थिए । उनीहरुले पूजाआजा नगरे पनि निधारमा राता टीका भने लगाएका थिए । उनीहरु पनि निकै खुसी भएका देखिन्थे । मन्दिरको विषयमा निकै चासो राखेर सोधपुछ गरेका हुन्थे । उनीहरुका लागि पनि निकै नै कौतुहलको विषय बनेको कुरा स्वतः अनुमान गर्न सकिन्थ्यो नै ।

केबुलकारबाट ओर्लिएपछि पैदलयात्रा गर्दै जाँदा मन्दिरको केही वर एक दुईवटा सानो टहरा बनाएर पूजा सामग्रीको व्यवसाय पनि रहेछ । तर तिनीहरु सधैँ बस्दा रहेनछन् । जाडो र चिसो बढेपछि यो स्थान उनीहरुले छोड्दा रहेछन् । गर्मी समयमा भक्तजन र पर्यटकको बाक्लो आगमन हुने हुँदा उनीहरुको व्यापार पनि फस्टाउँदोरहेछ ।

भक्तजन र पर्यटकका लागि यो कालिञ्चोक भगवतीे रहेको ठाउँ एकदम नै उपयुक्त रहेछ । काठमाडौँबाट करिब १२५ किलोमिटरमात्र रहेको र यातायात सुविधा भएकाले सबैका लागि सहज नै देखिन्छ ।

कालिन्चोक भगवती मन्दिर जानुपूर्व चरिकोटमा बस्नका लागि पनि विभिन्न तहका होटेलहरु पाइने हुँदा यात्रुहरूका लागि कुनै समस्या देखिँदैन । अर्को कुरा दोलखा जिल्लाको सदरमुकाम यो चरिकोटमा स्वास्थ्य, यातायात, बस्ने खाने आदि सुविधा उपलब्ध हुने हुँदा सबैका लागि सहज रहेछ । साथै व्यवस्थित किसिमले सहरको बस्ती बसाइएको र आधुनिक घरहरूको निर्माणले गर्दा पनि अन्य जिल्लाको तुलनामा दोलखा जिल्लालाई फरक किसिमबाट हेर्न सकिन्छ नै ।

चरिकोट बजारको नजिकै भीमेश्वर मन्दिर भएको हुँदा तीर्थालु एबं भक्तजनहरुका लागि झनै राम्रो हुने भइनै हाल्यो । कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गरेर मनलाई शुद्ध र आनन्द बनाउनु सबैका लागि फलदायी नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्