Logo
Logo

कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा



कर्णाली । कर्णालीमा शनिवार बेलुकासम्म ६ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुंगो लागेको छ ।

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिका लागि अन्तिम प्रयास भइरहेको छ । अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिइन् । उनले भनिन्, “रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौँ र आजै जसरी पनि टुंग्याउँदैछौँ ।”

वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनको भनाइ थियो । नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए । “हामी गठबन्धन दलको केन्द्रको निर्णय अनुसार सहमति गर्ने गरी गहन छलफलमै छौँ”, सभापति शाहीले भने, “जे–जसो गरे पनि आज नटुंग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।”

नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुंगोमा पुर्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्