Logo
Logo

साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता



खोटाङ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतवार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् ।

प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । ती दलले उम्मेदवार टुंग्याएर आज साँझ ५ बजेसम्ममा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षमा आइतवार तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ । मंगोलले हलेसी तुवाचुङ– १ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ । हलेसी तुवाचुङ– ९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क–१ राखाबाङ्देलमा माओवादी केन्द्रले वडाध्यक्षसहित चार सदस्यमा उम्मदवारी दर्ता गराएको छ ।

ऐसेलुखर्क–४ जलेश्वरी र ऐसेलुखर्क–५ महेश्वरीमा राप्रपाले वडाध्यक्षसहितमा मनोनयन दर्ता गराएको जनाएको छ । यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी–३ बास्पानी र केपिलासगढी –५ सप्तेश्वरमा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । रावाबेँसी– २ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्