Logo
Logo

खोटाङको दिप्रुङमा अझैसम्म एउटै परेको छैन उम्मेदवारी


14.5k
Shares

काठमाडौं । बैशाख ३० गते हुन गाईरहेको स्थानीय तह निर्वाचनका लागि देशैभर विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराईरहेका छन् । तर, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भने अहिले सम्म पनि कुनै दलहरुले उम्मेदवारी दर्ता गराएका छैनन् ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयको समय हिजो (आइतबार) र आजको समय तोकेकोे छ । तर, मनोनयको आज अन्तिम दिन १२ बजेसम्म पनि कुनै राजनीतिक दलहरुले उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृत गम्भिर घिमिरेले दृष्टि न्युजलाई जानकारी दिए । ‘हिजो कसैले पनि गर्नु भएन । आज पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारी दर्ता गराउनु भएको छैन’, उनले भने ।

खोटाङमा मनोनयन दर्ताको पहिलो दिन आइतवार जिल्लाका ठूला राजनीतिक दलका कुनै नेताले पनि उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । आज साँझ ५ बजेसम्ममा ती दलहरुले उम्मेदवार टुंग्याएर उम्मेदवारी दर्ता गराउने तयारी गरेको बुझिन्छ ।

जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी राजेश गौतमका अनुसार आइतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षमा आइतवार तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ । मंगोलले हलेसी तुवाचुङ– १ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ । हलेसी तुवाचुङ– ९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क–१ राखाबाङ्देलमा माओवादी केन्द्रले वडाध्यक्षसहित चार सदस्यमा उम्मदवारी दर्ता गराएको छ ।

ऐसेलुखर्क–४ जलेश्वरी र ऐसेलुखर्क–५ महेश्वरीमा राप्रपाले वडाध्यक्षसहितमा मनोनयन दर्ता गराएको जनाएको छ । यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी–३ बास्पानी र केपिलासगढी –५ सप्तेश्वरमा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । रावाबेँसी– २ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालयका अनुसार महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्