Logo
Logo

एमालेको उपमेयर उम्मेदवारी खारेज हुने खतरा



विराटनगर । आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाका लागि नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीसहित चारविरुद्ध उजुरी परेको छ ।

कार्कीले कोसी अस्पताल सञ्चालक समितिको सदस्यबाट राजीनामा नदिएई उपमेयरमा उम्मेदवारी दिएकी थिए । सरकारी सेवा नत्यागी उम्मेदवारी दिएपछि कार्कीको उम्मेदवारीविरुद्ध जसपाको तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका हुन् ।

कार्कीले मंगलवार मात्र राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । उम्मेदवारी दर्ता गराएपछि उनले बुझाएको राजीनामा पत्र तोक लगाएर दर्ता नगरी राखिएको छ ।

तर, एमालेका नेताहरूले भने कार्कीले फागुनमै राजीनामा दिएको भन्दै दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीसहित ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको बताए ।

उम्मेदवारी दिएकाविरुद्ध परेको उजुरीमाथिको जाँचबुझ बुधबारदेखि सुरु भएको हो । उम्मेदवारविरुद्ध उजुरी गर्ने समय मंगलबारलाई छुट्टाइएको भएपनि मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

उजुरीमाथि जाँचबुझ गर्ने समय निर्वाचन आयोगले बुधवार र बिहीबारलाई छुट्टाएको छ । आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय लिने छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले चुनावमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्