Logo
Logo

लोकतन्त्रको अर्थ फेरिएको हो ?



यसपालीको ‘लोकतन्त्र दिवस’ सुटुक्क आएर सुटुक्कै गएछ । जनताको निम्ति जनताबाटै चलेको जनताको शासन भनेर पढ्थ्यौँ, सुन्थ्यौँ । त्यसैका निम्ति जीवनको सबभन्दा महत्त्वपूर्ण समय खर्चियौँ । तर त्यति महंगो लोकतन्त्र आएको दिन पनि बिना कुनै उत्साह, थाहै नपाई गइसकेछ ।

छक्क परिरहेकोछु, कसरी यस्तो भयो ? लोकतन्त्रको अर्थ नै फेरिएको हो अहिले ? जनताको लागि जनताबाटै चलेको जनताको शासन छ कि छैन यतिबेला ? हरेक दिन सुनिन्छ ‘पहिले एउटा राजा थिए उनका ठाउँमा अहिले धेरै ‘राजा’ छन् । र यस्ता नयाँ राजाको संख्या बढेको बढ्यै छ ।

उसो भए खै त त्यो लोकतन्त्र ? मैले यसरी यी पंक्ति लेख्न पाउनुमा र मनका कुरा लेखे बापत जेल जानु नपर्ने अवस्थामा चित्त बुझाउनु नै हो लोकतन्त्र ?

लोकतन्त्रका निम्ति भनेर दशकौँदेखि नेपाली जनताले बलिदान दिँदै आएका हुन् । अघिल्ला पुस्ताका योगदान, बलिदान र भोगाइबारे थाहा पाएका मानिसको संख्या बिस्तारै कम हुँदै गएता पनि, २०६२–६३ को जनआन्दोलन देख्ने, व्यहोर्ने मध्ये अझै बुढा नभइसकेका नेपाली नागरिक भने प्रशस्तै छन् ।

छक्क परिरहेकोछु, लोकतन्त्रको अर्थ नै फेरिएको हो ? जनताको लागि जनताबाटै चलेको जनताको शासन छ कि छैन यतिबेला ? मैले यसरी यी पंक्ति लेख्न पाउनुमा र मनका कुरा लेखे बापत जेल जानु नपर्ने अवस्थामा चित्त बुझाउनु नै हो लोकतन्त्र ? खै त त्यो लोकतन्त्र ?

पुराना कुरा बिर्सन थाले पनि, लोकतन्त्रको कुरा गर्दा ६२–६३ को आन्दोलन अनायास सम्झनामा आउँछ । त्यसबेला वरिपरिका छिमेकी र आफन्त साथीहरुले प्रत्यक्ष वा फोनमा गरेका कुरा बिर्सन सकेको छैन । २०६३ सालको वैशाख १० गते बेलुकीसम्म पनि आन्दोलन कसरी टुङ्गिने हो भन्ने कुरा अनिश्चितै जस्तो थियो ।

‘महाभारत त १८ दिनसम्म मात्रै भयो । तर, यो आन्दोलन त १८ दिन भन्दा नाघ्ने भयो…’ भन्ने लाग्थ्यो, साथिहरुसँग त्यस्तै कुरा हुन्थ्यो । घरमा म र दुई छोरी मात्र थियौँ । छोरीहरुको बुवा ‘चौबिसे’को समूहमा दुवाकोटमा बन्दी थिए । मेरो मन पनि आन्दोलित थियो । सरोज धितालसँगै जेल लगिएका २४ जनामध्ये कतिले अलि अगाडिनै बाहिर निस्कन हतार गरेका थिए ।

म पनि आफ्नो मान्छे छिट्टै जेल मुक्त होस् भन्ने चाहना राख्थें तर, त्योसँगै लोकतन्त्रको घोषणा होस् भन्ने कामना पनि गरिरहेकै थिएँ । लोकतान्त्रिक आन्दोलनको विजय घोषणा हुने दिनको अघिल्लो रात नै बिहानीपखतिरको निन्द्रामा मैले एउटा मीठो सपना देखेँ– रमाइलो मात्र हैन रोमान्टिक पनि ।

परेवाको जोडीको सपना जसले मेरो मनको चिन्ता पीडालाई मलम लगाई दिए जस्तै भएको थियो । अहिले भन्दा नाटकीय नै लाग्ने त्यो सपना उठ्नेबित्तिकै ठूली छोरीलाई र केही बेरपछि कथाकार भागिरथी दिदीलाई नसुनाएको भए अहिले कसैले नपत्याउने जस्तै लाग्नसक्छ ।

छोरीलाई भनेको थिएँ– ‘सपना राम्रो देखेको छु, अब बुवा छुट्नु हुन्छ होला, आन्दोलन पनि सफल होला…’ तर बेलुकासम्म पनि अवस्थामा परिवर्तन आएको थिएन । आफन्त साथीहरुको फोन भने आइरहेकै हुन्थ्यो, वास्ता देखाउनका निम्ति मात्र हैन, देशको चिन्ता लागेर र मलाई अलि धेरै कुरा थाहा छ कि भनेर पनि ।

बाटो बन्द भएकाले कतै जाने कुरा थिएन । गर्न सक्ने भनेकै कापी कलम लिएर बस्ने र मनको कुरा लेख्ने मात्र थियो । स्तम्भ लेख्न र रेडियोमा बोल्न छोडेकी थिइन । तिनै माध्यमबाट आन्दोलनमा सामेल हुन खोज्दैथिएँ– स्वधर्म निभाउँदै । धन्न बच्चाहरुको साथ थियो र एक्लै थिइन घरमा । उनीहरु पनि सकेसम्म कोशिस गरिरहेका थिए मेरो मनोबल उठाउन । सकेसम्म हँसाउन खोज्थे, सकारात्मक कुरा गर्थे ।

दिउँसो भगिरथी दिदीको फोन आयो– ‘के हो बहिनी अझै लम्बिने हो कि आन्दोलन …?’ हो न हो, आन्दोलनको साँचो नै हामीसँग भए झैं गरी दिदी सोध्दै हुनुहुन्थ्यो– ‘अझै कति दिन लाग्ने हो बहिनी ? अब त सबैलाई गाह्रो भैसक्यो …।’

अवश्य नै सबै नागरिकलाई झन्–झन् गाह्रो हुँदै गइरहेको थियो । धेरैको ज्यानै गइसकेको थियो । कडा कर्फ्यूका कारण श्रम गरेरै हातमुख जोड्नु पर्नेहरुलाई त झनै गाह्रो हुने नै भयो । जेले पनि प्रत्यक्ष रुपमा असर पार्ने त भुई मान्छेलाई नै त हो नि ! महिला, बालबच्चा, अशक्त नागरिकहरुलाई त हो नि !

तर, आन्दोलनभरि नै मनमा चिन्ता मिसिएको भए पनि एउटा आत्मविश्वासले पनि काम गरिरहेको थियो । किशोरावस्थादेखि नै परिवर्तनको सपना देखिरहेका हामी दुईको वैवाहिक जीवन पनि तिनै साझा सपनामा उभिएको थियो ।

सहयात्री र सहयोद्धाको रुपमा हाम्रो जीवन अगाडि बढेको थियो । सरोज पुरुष भएकोले अगाडि बढ्न, दौडिन केहीले छेकेन, मैले पनि छेकिन । मलाई अगाडि बढ्न भने त्यति सहज थिएन । तर पनि आत्मविश्वास भने थियो । आफ्नै किसिमले म पनि आन्दोलनमै थिएँ ।

जेल परेकाहरुको स्थिति कस्तो थियो, थाहा थिएन । तर उनिहरुका आफन्तलाई भने जेलबाहिर बसेर अनेक अनुमान गर्दा कति चिन्ता लाग्दो रहेछ भन्ने कुरा त्योबेलाको अनुभवले धेरै बतायो । त्यो रात देखेको सपनाले भने एउटा नयाँ राहत जस्तो दिईरहेको थियो ।

म सपनामै भुलिरहेकी थिएँ । त्यही दिन भागिरथी दिदीको फोनको जवाफमा मैले भनेको याद छ मलाई– ‘दिदी मैले एउटा राम्रो सपना देखेको छु । अब छिट्टै टुंगिन्छ होला आन्दोलन र डाक्टर सा’ब पनि छुट्छ होला…’ अनि बिहानै छोरीलाई सुनाएको सपना दिदीलाई पनि सुनाएँ ।

तर वास्तविकता सपनाजस्तो हुँदैन रहेछ भन्ने कुरा त अहिलेको यथार्थले देखाइदिएको छ । त्यहि दिन भने मेरो आत्म विश्वास र आत्मबलले काम गरेको थियो । र त्यो सपनालाई मैले कवितामा यसरी रुपान्तरण गरेकी थिएँ–

अन्धकार रातको ढोकालाई
घरक्क उघारेर
समय
चूपचाप मेरो निद्रामा पस्यो
र मलाई एउटा सपना दियो–
(… खुल्ला आकाशमा रमाएर उडिरहेका
सेता परेवाहरू
शहीदको रगतले सिँचेको भूमिमा फुलिरहेका
आशाका राता फूलहरू
जताततै गुञ्जिएको शान्तिको धुन
मगमगाइरहेको जीवनको सुवास मिर्मिरेको घामलाई बोलाईरहेको
सुन्दर आनन्दमय क्षण…)
समयलाई मैले भनेँ–
‘यो त
आफ्नो जीवनका स्वर्ण दशकहरु
सडकमा ओछ्याएर
हामीले देखिरहेको सपना त हो नि !’
समयले भन्यो –
‘हैन, म फेरिएँ,
आफैंलाई हेर त, तिमी पनि उही छैनौ !’
आफैंलाई हेर्दा मैले देखेँ–
आफ्नो हृदयका फूलहरु ओछ्याएर
म त पर्खिरहेको रहेछु
मेरो प्रियलाई
जो आफ्ना सहयोद्धाहरूसँगै
भर्खरे मुक्त भएको छ समयलाई नै फेरेर !

समय त फेरियो, तर यतिबेला लाग्दैछ– अर्कै दिशामा फेरिएछ । फेरि सपनामा आयो भने समयले मसँग लोकतन्त्रको परिभाषा माग्न सक्छ । के जवाफ दिउँला म उसलाई ?

प्रतिक्रिया दिनुहोस्