काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले पोखरा महानगरपालिकामा एकवर्षे कार्ययोजनासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पदवहाली गरेदेखि एक वर्षसम्मको कार्ययोजना समेटिएको छ ।

समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा २५ बुँदे कार्ययोजना नै समेटिएको छ ।
प्रतिबद्धता कार्यान्वयनका लागि ७ वटा आधारहरू तयार पारिएका छन् । नेतृत्व सीप र क्षमता, पूँजीको व्यवस्थापन, सामाजिक परिचालन, दिगोपना, नागरिक अपनत्व, सहभागितात्मक योजना तर्जुमा, सेवाग्राही मैत्री, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह लगायतका आधारहरू त्यसमा राखिएका छन् ।
महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने भनिएको छ । उक्त कार्य निर्वाचित पदाधिकारीले पदबहाली गरेको दिनमा नै गरिने भएको छ । बाँकी कार्ययोजनालाई एक महिनादेखि एक वर्षभित्रमा सम्पन्न गर्ने भनिएको छ ।
महानगरवासीलाई मासिक पाँच हजार लिटर शुद्ध खानेपानी निःशुल्क वितरण गरिने पनि उल्लेख गरिएको छ । पोखरालाई मास टुरिजमको हबको रुपमा विकास गरिनेछ भने यसका लागि प्रर्वद्धन गर्ने तात्कालिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। पर्यटकीय गतिविधिलाई २४ घण्टा खुल्ला राख्न पहल गरिने छ ।











