
दाङ । नेकपा एमाले राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
एमाले र कांग्रेसबाट माओवादी प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री इन्द्रजीत थारुले स्वागत गरे ।
चुनावी माहोल शुरु भएसँगै राजपुरमा एमाले काँग्रेसबाट माओवादी प्रवेश गर्नेको लहर नै चलेको छ । भारतको सीमा क्षेत्रसँग जोडिएको दाङदेउखुरीको राजपुर माओवादीको राम्रो पकड भएको गाउँपालिका हो ।
माओवादीबाट राजपुर गाउँपालिका अध्यक्षको उम्मेदवार चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादव चुनावी मैदानमा होमिएका छन् ।
जनतामा राम्रो छवि बनाएका खड्का र यादवले उम्मेदवारी दिएपछि एमाले कांग्रेसबाट आउने नेता कार्यकर्ताको लहर नै चलेको माओवादी राजपुरका प्रवक्ता भीम वलीले बताए ।
‘हामीले चुनावी माहोल राम्रो बनाएका छौं । चुनाव जितिसक्यौं’ वलीले भने, ‘अब मतदान भए पनि घोषणा हुन मात्रै बाँकी छ ।’ एमाले काँग्रेसबाट पुराना स्थापित नेता माओवादी प्रवेश गरेकाले माओवादीको पक्षमा माहोल झन् बढेको वलीले बताए ।














