Logo
Logo

रघुवीरलाई मोसो दल्न खोजेपछि…



काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठमाथि एमालेकै कार्यकर्ताले मोसो दल्नेसम्मको हुलहुज्जत गरेका छन् । चुनाव परिचालन कमिटीको बैठकको क्रममा महासेठमाथि उनकै कार्यकर्ताले मोसो दल्ने प्रयास गरेका हुन् । मापदण्डको आधारमा भन्दा पनि गुटगत रुपमा स्थानीय तह निर्वाचनमा टिकट दिएको असन्तुष्ट कार्यकर्ताको गुनासो छ ।

मिथिला नगरपालिकाको चुनाव परिचालन कमिटीको पुकार होटेलमा गत आइतबार बसेको बैठकमा महासेठ अचानक पुगेपछि कार्यकर्ता आक्रोशित भएका थिए । निवर्तमान मेयर हरिनारायण महतो पक्षका कार्यकर्ताले महासेठको चर्को विरोध गर्दै कालोमोसो दल्नेसम्मको हुलहुज्जत गरेका थिए । हात हालाहालकै स्थिति बनेपछि बैठक स्थगित गरिएको स्रोतले दृष्टिलाई बतायो । पूर्वमन्त्री समेत रहेका महासेठप्रति कार्यकर्ताले आक्रोश पोखेपछि तनाव साम्य पार्न इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी बैठक स्थलमा पुगेको थियो ।

महासेठले टिकटमा चलखेल गरेको कार्यकर्ताको आरोप छ । स्रोतका अनुसार एमाले कार्यकर्ताले महासेठलाई तथानाम गाली गर्दै मोसो दल्न खोजेको थिए । तर, समयमै प्रहरी पुगेका कारण महासेठ मोसो दलिनबाट जोगिएका थिए ।

एमाले नगर कमिटीले मिथिलाको मेयरमा हरिनारायणको एकल सिफारिस गरेको थियो । तर, मनोनयन दर्ताको अन्तिम दिन हरिनारायणलाई पाखा लगाएर राजाराम महतोले टिकट पाएका थिए । हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराए पनि केपी शर्मा ओलीले व्यवस्थापन गर्ने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिएका छन् । हरिनारायणको पक्षमा भएको सिफारिसमा राजारामको नाम राखेर पुरानै मितिमा निर्णय गर्न खोजेपछि विवाद भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्