Logo
Logo

एमालेमा विद्रोहको तयारी



काठमाडौं । लालबन्दी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निवर्तमान मेयर मानबहादुर खड्काले दर्ता गराएको उम्मेदवारी एमालेले खोसेको छ । खड्का १०बुँदे पक्षधर भएकै कारण टिकट खोसिएको चर्चा एमालेवृत्तमा छ । खड्काको टिकट रद्द गरेर ओलीगुटका गोविन्द महतले उम्मेदवार बनेका छन् । खड्कालाई प्रदेश कमिटीले टिकट दिएको थियो । एमालेले नगरपालिकामा मेयर र उपमेयरको टिकट प्रदेश कमिटीले दिने मापदण्ड बनाएको थियो । तर, आफैले बनाएको मापदण्ड लत्याउदै ओलीले १०बुँदे भएकै कारण खड्काको टिकट खोसेर महतलाई उम्मेदवार बनाएका छन् ।

१०बुँदे विवादले हरिवन, ईश्वरपुरलगायतका पालिकामा पनि एमाले पराजित हुने अवस्था आएको छ । १०बुँदे सहमतिसँगै एमालेमा बसेका नेताहरूमाथि टिकट वितरणमा ओलीले राजनीतिक प्रतिशोध राखेका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा तयारी गरेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको आवाज पार्टीले सुन्दै सुनेन । १०बुँदेले जतिबेला पनि धोका दिनसक्ने आँकलन गरेर ओलीले टिकट वितरणमा भेदभाव गरेको स्रोतको दाबी छ ।

विराटनगरको मेयरमा पूर्व प्रदेशमन्त्री समेत रहेका जीवन घिमिरेले पनि दाबी गरेका थिए । प्रदेश कमिटीले घिमिरेको नाम सिफारिस पनि गरेको थियो । तर, विगतमा माधवकुमार नेपालनिकट रहेकै उनी टिकटबाट बन्चित भएका छन् । ओलीले संसद विघटन गर्दा मन्त्री पदबाटै राजीनामा दिएर सडक संघर्षमा उत्रिएको प्रतिशोध ओलीले राखेको एमालेका एक नेता बताउँछन् ।

ओलीको गृहजिल्ला झापामा चन्द्रा श्रेष्ठले उपमेयरको टिकटको बचन पाएर पनि अन्तिममा धोका खाएकी छिन् । १०बुँदे पक्षधर भएकै कारण उनले पनि टिकट नपाएकी हुन् ।

यस्तै, काभ्रेको पाँचखाल नगरपालिकाको उपमेयरमा दाबी गरेकी भक्तकुमारी लामालाई पनि गोली गुटले रोकेको छ । लामा सुरुमा नेकपा (एकीकृत समाजवादी)मा लागे पनि सूर्य चिह्नको लोभले एमालेमा फर्किएकी थिइन ।

यस्तै, काठमाडौंको मेयरमा दाबी गरेकी इन्दिरा पन्तको नाम उपमेयरमा समेत अटाएन । एमालेको साधारणसदस्य समेत नरहेकी सुनिता डंगोलले एमालेका नेतृहरूलाई पाखा लगाउँदै टिकट उछिट्याएकी छिन् । काठमाडौंको मेयरका लागि ५ जनाको नाम सिफारिस हुँदा पन्तको समेत परेपछि ओली गुटले आक्रोश पोखेको थियो । श्रीमान वसन्त मानन्धर एकीकृत समाजवादीमा लाग्दासमेत एमाले नछाडेकी पन्तलाई ओलीले अवसर दिन आवश्यक ठानेन् । यसरी ओलीको प्रतिशोधमा परेका एमाले कार्यकर्ताहरु ढिलो चाँडो एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी पार्टीमा आउने सूत्रले बताएको छ ।

एमाले छाड्नेको लहर

अन्य जिल्लामा पनि नेकपा (एमाले)बाट निर्वाचित मेयर र अध्यक्षले एमाले छाड्न थालेका छन् । २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर बिर्खबहादुर राईले फेसबुकमा लेखेका छन्, ‘मैले आजदेखि पार्टीमा नरहने घोषणा गरेँ, दुःख त लागेकै छ…।’ यसअघि राईको नेतृत्वमा सबै पदमा एमालेले विजयी भएको थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा एमालेले पाख्रीबासमा भीमबहादुर राईलाई मेयर र नम्रता देउजालाई उपमेयरमा उम्मेदवार बनाएको छ ।

केही समयअघि डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा (एमाले) परित्याग गरेका थिए । ०७४ मा एमालेबाट उम्मेदवार भई काईके गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरूङ एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । उनीहरू दुबै जना आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्विरोध भएका छन् । अध्यक्षमा उनीहरूको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

यसअघि कञ्जनपुरको बेदकोट नगरपालिकाका मेयर अशोकुमार चन्दले एमाले परित्याग गरेका थिए । हाल उनी पनि नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्