Logo
Logo

हाम्रा सबै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकून् : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले देश तथा विदेशमा रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

मुस्लिम समुदायले मनाउने यो पर्व उत्साह र समानताको प्रतीक पनि भएको उल्लेख गर्दै उनले जारी गरेको सन्देशमा भनिएको छ, “नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र नभई यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले, सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।”

मुख्यमन्त्री राईले आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको सन्देशमा उल्लेख गरेका छन् ।

“हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूसहित सबै नेपालीहरूमा ईद–उल–फित्रको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”, सन्देशमा उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्