Logo

अर्का न्यायाधीश छानबिनमा



काठमाडौं । न्यायालयको नेतृत्व फेरिएसँगै न्याय परिषद् सक्रिय बनेको छ । विवादास्पद फैसला गर्ने न्यायाधीशमाथि परिषद्ले तत्काल छानबिन गर्न थालेको छ ।

यही क्रममा काठमाडौं जिल्ला अदालतका एकपछि अर्का न्यायाधीश छानबिनमा तानिएका छन् । जिल्ला न्यायाधीश चाणकमणि अर्यालमाथि समेत परिषद्ले छानबिन थालेको छ । उनले हात्ती मारेर दाह्रा कारोबार गरेको वन्यजन्तुसम्बन्धी गम्भीर प्रकृतिको अपराधमा संलग्न अभियुक्तलाई गत साता धरौटीमा छाड्ने आदेश दिएका थिए ।

१५ वर्षसम्म कैद सजाय हुने मागदाबी रहेको मुद्दाका तीन अभिुक्तलाई जिल्ला अदालत काठमाडौंले गत बिहीबार धरौटीमा छाड्ने आदेश दिएको थियो । यस्तो मुद्दामा पहिलोपटक अदालतबाट धरौटी खुलेको हो ।

डेढ महिनाअघि काठमाडौंमा हात्तीको दाह्रासहित पक्राउ परेका रमेश सुवेदी, भक्तिबहादुर लिम्बु र अशोक कार्कीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको हो ।

गत २७ फागुनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महाराजगन्जको होटेल ओदानबाट हात्तीको दाह्रासहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यसमा ठूलै संगठित गिरोह रहेको पत्ता लाग्यो ।

जसअनुसार उनीहरूमाथि विस्तृत अनुसन्धान गरी डिभिजनल वन कार्यालय, काठमाडौंले १२ वैशाखमा १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना सजायको माग गरी अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले सुवेदी र लिम्बुलाई १०–१० लाख तथा कार्कीलाई सात लाख रुपैयाँ धरौटी माग गरेको हो । विगतमा क्रुजमा काम गरेका लिम्बुको आर्थिक अवस्था बलियो भएकाले उनी सुरुदेखि नै अनुसन्धानअधिकारीलाई समेत प्रभावमा पार्ने प्रयासमा थिए ।

पक्राउ परेका अभियुक्तले आर्थिक प्रलोभनमा परेको भन्दै अदालतमा समेत अभियोग स्वीकारेका थिए । यस्तो अवस्थामा कसरी उनीहरु छुटे भन्ने प्रश्न सरकार वकिलले समेत उठाएका छन् । त्यही कारण न्यायाधीश आचार्यमाथि छानबिन सुरु भएको हो ।

यसरी काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय सूर्य प्रसाद अधिकारी र अम्बिका प्रसाद निरौलाको जिम्मेवारी खोसेर छानबिन भइरहेको छ । उनीहरुले एकपछि अर्काे विवादास्पद फैसला गरेका थिए ।

त्यस्तै, बलात्कारको मुद्दामा बयान फेरेको आधारमा पीडितलाई नै साढे तीन वर्ष कैद सजाय सुनाउने अछामका न्यायाधीश नवीक कुमार जोशीलाई पनि जिम्मेवारीबाट हटाएर परिषद्ले छानबिन गरिरहेको छ । उच्च अदालतका केही न्यायाधीशहरु समेत छानबिनको दायरामा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्