Logo

ओली किन समाचार उत्पादन गर्छन् ?



समाचारको संसारमा फ्लो र कन्ट्राफ्लो हुन्छ । धेरैजसो ठूला मान्छे, ठूला घटना र अनौठा क्रियाकलापले नै समाचार बनाउँछन्, त्यो समाचारको फ्लो हो । कहिलेकाँही त्यस्तो फ्लोलाई रोक्न सामान्यतः समाचार नबन्ने दिशामा पनि प्रतिरोधी समाचार बन्छन्, त्यसलाई कन्ट्राफ्लो भनिन्छ । समाचारको फ्लोलाई रोक्ने यो एउटा उपाय पनि हो ।

दिशाको कुरा गर्दा फ्लो उत्तरबाट दक्षिण र कन्ट्राफ्लो दक्षिणबाट उत्तरतिर हुन्छ भनिन्छ । आमसञ्चारमा उत्तरले पहुँच भएकाको र दक्षिणले पहुँच नभएकाको प्रतिनिधित्व गर्छन् । नेपालको सन्दर्भमा पनि यो लागू हुन्छ ।

यसो सुन्दा फ्लो र कन्ट्राफ्लोमा गतिको तेस्रो नियम नै लागू हुन्छ कि जस्तो देखिन्छ । तर, यथार्थमा त्यस्तो हुँदैन । यसको अर्थ उत्तरले जति दक्षिणले समाचार उत्पादन गर्न सक्दैन । किनकि, दक्षिणको पहुँचमा समाचार बनाउने स्रोत र त्यसलाई प्रवाह गराउने माध्यम उत्तर जतिकै हुँदैनन् । समाचार ग्रहण गर्ने उपभोक्ताको चेतनास्तर पनि सहयोगी हुँदैन ।

नेपालको कुरा गर्ने हो भने शक्तिमा बस्नेहरू समाचारको उत्तरमा हुन्छन् र उनीहरूले नै दक्षिणतिर मनलागी समाचार फ्लो गर्ने हैसियत राख्छन् । दक्षिणमा रहने आम मानिसले समाचारको कन्ट्राफ्लो गर्न सक्दैनन् । किनकि, उनीहरूसँग समाचार भए पनि समाचारको भेहिकल अर्थात् मिडिया हुँदैन ।

नेपाली पत्रकारहरूले जति नै आफूलाई आवाजविहीनका आवाज भने पनि यथार्थमा उनीहरू आवाज हुनेकै आवाज भइरहेका छन्, उनीहरूकै मिडिया भइरहेका छन् । फ्लो गर्नेहरूको भनाइलाई नै समाचारको शीर्षक बनाएर सम्प्रेषित गर्नेहरूले कदापि आवाजविहीनको आवाज हुन सक्दैनन् । त्यसका लागि कन्ट्राफ्लो गर्नुपर्ने हुन्छ, त्यो उनीहरूको रोजाइ र कतिपय अर्थमा त सामथ्र्यको पनि कुरा हुँदैन ।

यसमा अर्को पनि महत्वपूर्ण पक्ष छ । त्यो के भने, नेपाल अझै पनि मिडिया सेन्ट्रिक जोनबाट बाहिर निस्कन सकेको छैन । समाज अझै पनि मिडियाले जे दिन्छ, त्यही उपयोग गर्न बाध्य छ । यदाकदा आफू बच्नलाई मिडियाले समाजमा यस्तै चलेको छ, त्यही भएर हामीले यही दिएका हौं भनेर सोसाइटी सेन्ट्रिक मिडियाको कुरा गरे पनि त्यो यथार्थ हैन ।

नेपालमा मिडिया र मिडियामार्फत उनीहरुको सम्पादकीय लाइनमा रहेका स्तम्भकार र टापटिपे अखबारी लेखकले मिडियाकै भाषा सम्प्रेषण गरिरहेका हुन्छन् । हुँहाहुँदा एंगलिङ गर्ने नाममा समाचारलाई पनि विचारको एड्भोटरियल बनाउन थालिएको छ । यही क्रममा नेपाली मिडिया पछिल्लोपटक ठूलो मात्रामा मिडिया ट्रायल, मिडिया बलुन र एजेण्डा सेटिङको शिकार भइरहेको छ । अहिले त चुनाव लागेको छ, हाकाहाकी नै पक्षपोषण भएको छ ।

नेपालमा जो शक्तिको केन्द्रमा हन्छ, ऊ नै समाचारको केन्द्रमा हुन्छ, मिडियासेन्ट्रिक मिडिया अवस्थितिको मूल विशेषता नै यही हो । धेरै अघि जानै पर्दैन, जतिबेला मुलुकमा एमाओवादी अस्वाभाविक संख्यामा जितेर संविधानसभामा आएको थियो, त्यसपछिका चार वर्ष मुलुकमा कम्तीमा पनि ६० प्रतिशत समाचार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नै उत्पादन गर्थे ।

उनले क्रिया गर्दा एक किसिमका समाचार बन्थे, अरूले त्यसमा प्रतिक्रिया गर्थे र अर्का खालका समाचार बन्थे । क्रियामा होस् या प्रतिक्रियामा उनी दोहोरिएर समाचार बन्थे । अब उनका लागि त्यो दिन रहेन । यद्यपि, लगभग सधैँभरि सत्ताको साँचो बोक्ने प्रचण्ड समाचारको पिरामिडमा केही तलमाथि हुन्छन् तर ब्लाकआउट नै चाँहि हुँदैनन् ।

अहिले नेपालमा समाचार बनाउने पात्र केपी शर्मा ओली हुन् । उनी सरकारमा छैनन् तर सरकारमा हुँदा पनि उनले नै समाचार बनाए, अहिले बाहिर हुँदा पनि उनी नै समाचार बनाइरहेका छन् । उनको वाकपटुता र उखानटुक्का प्रयोग गरेर बोल्ने विशिष्टकलाले उनी समाचारको सुर्खीमा छाउने हुन् । विरोधीहरूमाथि कडा प्रहार गर्ने उनको चरित्रका कारण पनि मुलुकमा ओलीको बोली भन्ने चलन नै चलेको हो ।

पछिल्लो अवस्थामा मुलुकका झण्डै ५० प्रतिशत समाचार त ओली एक्लै उत्पादन गरिरहेका छन् । उनले फ्लो गर्ने समाचारमा कन्ट्राफ्लो हुँदा उनी दोहोरिएर समाचार बनेका छन् । यसको पनि हिसाब गर्ने हो भने उनले उत्पादन गर्ने समाचारको मात्रा अझ धेरै हुन्छ ।

देशमा चुनाव लागेयता त ओली चर्चाको शिखरमै छन् । उनले कहाँ के बोल्छन्, सुरमा बोल्छन् कि बेसुरमा बोल्छन्, जो कोहीलाई भेउ पाउनै गाह्रो हुन्छ । मनलागी बोल्ने उनको एक किसिमको बानीभन्दा पनि रोग नै भने हुन्छ । बोल्दै जाँदा के–के बोल्छन्, आफैंलाई थाहा हुँदैन ।

ओलीको यो जे पायो त्यही बोल्ने फ्लोलाई माधव नेपाल र प्रचण्डले कन्ट्राफ्लो दिइरहेका छन् । पछिल्लो समयमा गगन थापा र विश्वप्रकाश शर्माले पनि कन्ट्राफ्लोलाई मनग्गै सघाइरहेका छन् ।

आखिर ओली किन बोलीमा लगाम नलगाइ बोलिरहेका छन् त ? यसको उत्तर खोज्न डा. गोविन्द केसीले एकपटक भनेको कुरा सम्झनुपर्ने हुन्छ । उनले भनेका थिए– ओली मेक्लोमेनको शिकार भएका छन् ।

चिकित्सकीय भाषामा मेक्लोमेनको बारेमा यस्तो लेखिएको पाइन्छ– कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ । यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ ।

मिर्गाैला प्रत्यारोपण गरिएपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि सेवन गर्दै आएका छन् । यो औषधि एक किसिमको ड्रग्स नै हो जसले आफ्नो सामथ्र्यभन्दा बढी गर्न सक्छु भन्ने भ्रम पैदा गरिदिन्छ । चिकित्सकीय भाषामा त्यसलाई ‘मेक्लोमेन’ भनिन्छ ।

ओलीको अहिलेको व्यवहार हेर्दा उनी मेक्लोमेनकै शिकार भएजस्तो देखिन्छ । उनी एकजना सामान्य मानिसले गर्ने स्वभाविक कामभन्दा पनि अस्वभाविक मानिसले गर्ने खालका गतिविधि गरिरहेका छन् ।

अहिले ओलीसँगै मुलुक पनि मेक्लोमेनको शिकार भइरहेको छ । किनकि, गतिको सामान्य नियमअनुसार पनि ओलीको हरेक क्रियामा अरूले पनि त्यही तहको प्रतिक्रिया गर्नुपर्ने हुन्छ, त्यसो हुँदा मुलुक दोहोरो मेक्लोमेनको शिकार हुन पुगेको हो । समाचारको भाषामा भन्दा फ्लो र कन्ट्राफ्लोको स्थितिले यस्तो अवस्था सिर्जना भएको हो ।

अर्को कोणबाट हेर्दा चुनावको बेला जसले जे बोले पनि भएको छ । मानौ उम्मेदवार भनेका सुपरम्यान हुन्, उनीहरूले जे चाह्यो त्यही पुर्याउन सक्छन् । नेताहरू आफ्ना उम्मेदवारलाई सुपरम्यान बनाइरहेका छन् ।

अझ प्रष्ट भाषामा भन्ने हो भने उनीहरूको मात्र होइन, देशकै क्षमताले नभ्याउने कुरा पुग्छ भनेर अति विश्वासको शिकार भएका छन्, जनतालाई पनि त्यही किसिमको भ्रममा पार्न खोजेका छन् । यसरी हेर्दा कुनै न कुनै अर्थमा सबै मेक्लोमेन भएका छन् ।

केही दिनअघि एक जना अमेरिकी प्राध्यापकसँग मेक्लोमेनको बारेमा कुरा गरिरहेका थिए । उनको भनाइको सार थियो– ‘मेक्लोमेन व्यक्तिगतरूपमा मानिसको मेन्टल स्टाटससँग सम्बन्धित छ, त्यसैले यो रोग सर्दैन ।’

ती प्राध्यापकको कुरा सुनेर यो स्तम्भकार पूरै सहमत हुन सकेन । र, उसले आफ्नो देशको पछिल्लो चुनावी तस्बिरलाई प्रस्तुत गर्दै भन्यो, नेपालमा पहिला केपी ओली भन्ने नेतालई यो रोग लागेको थियो । नेपालीको छिटै विस्मृतिमा जाने समस्या र उनको वाकपटुताले यस्तो स्थिति पैदा गरिदियो कि जनताले पनि त्यो पत्याउन थाले । त्यसपछि अरू पनि त्यस्तै असम्भव कुरा गर्न थाले । र, प्रकारान्तरमा पछिल्लो समय नेपाल मेक्लोमेनको शिकार हुन पुग्यो ।

चिकित्सकसमेत रहेका ती प्राध्यापक एकछिन त यो स्तम्भकारको कुरा सुनेर अचम्भित भए । यो पंक्तिकारको समाजशास्त्रीय प्रस्तुतिलाई उनले नकार्न सकेनन् तर चिकित्साशास्त्रीय कोणबाट उनी आफ्नो निस्कर्षलाई बदल्ने अवस्थामा पनि थिएनन् । फिस्स हाँस्दै अन्तिममा भने– ‘नोटेड’ । अर्थात् मैले यसलाई टिपोट गरेँ, जानकारीमा लिएँ ।

महान् दार्शनिक आरिस्टोटलले भनेका छन्– सत्य बीचमा हुन्छ । उनले गोल्डेन मिन अफ इथिक्स प्रतिपादन गर्दै यसो भनेका थिए । उनको विचारमा छेउ भनेको एक किसिमको अतिवाद हो । त्यसले समग्रता बोक्न सक्दैन ।

हजारौं वर्षअघि उनले भनेको त्यही सत्य नै आजसम्मको वाास्तविक सत्य पनि हो । तर, ओली यसमा विश्वास गर्दैनन् । उनी र उनको दल जेलाई पनि भित्तामै पुर्याउन दत्तचित्त छ । यसैमा फ्लो र कन्ट्राफ्लो भइरहँदा मुलुक नै मेक्लोमेनमय हुन पुगेको हो ।

जे होस् यतिबेला मुलुक ओलीमय अर्थात् मेक्लोमेनमय भएको छ । उनले नेपालीको नौ दिनमा नौलो बीस दिनमा बिर्सियो भन्ने समस्याबाट भरपूर फाइदा लुट्दै हुनै नसक्ने कुरा फ्लो गराएर अरूलाई पनि त्यही गतिमा कन्ट्राफ्लोमा उतारेका छन् । प्रकारान्तरमा, देश ओलीमेनिया र ओलीफोबियामा गरेर ठाडो चिरामा दुई फग्ल्याटा भएको छ ।

जे वास्तविक चुनावी मुद्दा हुनुपर्थ्याे ती भएनन्, जे नहुनुपर्थ्याे ती भएका छन् । हुन त खासगरी फ्लो गर्नेहरूलाई गजब गरेँ भन्ने लागेको होला तर त्यसले सिर्जना गरेको कन्ट्राफ्लोले समेत सघाएर अन्ततः देश जुन स्थितिमा धकेलिएको छ, त्यसको मूल्य नेपालले तिर्नुपर्ने हुन्छ । त्यसको भाग हामी सबैलाई लाग्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्