Logo
Logo

काभ्रेमा हलचल, गोकुललाई धक्का



काठमाडौं । राजीनामा घोषणा गर्दै काभ्रे बनेपाका मेयर लक्ष्मीनरसिंह बादेले भने, ‘मलाई गोकुल बाँस्कोटाले मेयरको टिकट दिने वचन पटक–पटक दिएर पनि धोका दिए । हाम्रो राम्रो सम्बन्ध हुँदा हुँदै पनि मैले उनीबाट धोका पाएँ । मलाई किन यसरी झुक्याए, उनीहरुको साँठगाँठ के थियो, त्यो उनैलाई थाहा छ ।’ पछिल्लो समय नेकपा (एमाले)मा विचारको राजनीतिभन्दा पद र पैसाको प्रलोभनले काम गर्न थालेको आरोपलाई बादेको उक्त अभिव्यक्तिले पुष्टि गर्छ ।

बाँस्कोटाले बादेलाई मात्र नभएर अन्य धेरैलाई पदको आश्वासन दिएर झुक्याएको स्रोतले दृष्टिलाई बतायो । बाँस्कोटाले काभ्रेमा पार्टीका कुनै पनि नेतालाई पत्तो नै नदिइ राजनीतिक र आर्थिक लाभ लिँदै आएको स्रोतको दाबी छ । एमाले स्रोतले भन्यो, ‘केन्द्रमा जस्तै काभ्रेमा पनि एउटा व्यक्तिको भरमा एमाले चलेको छ ।’

गत शनिबार पत्रकार सम्मेलन गरेर मेयर बादेले बाँस्कोटाले पार्टीभित्र सल्लाह र छलफल नगरी आफूखुशी मनलाग्दी गरेको आरोप लगाए । चुनावको मुखमा बादेले दिएको राजीनामाले एमालेभित्र हलचल पैदा गरेको छ ।

कांग्रेसको गढको रुपमा परिचित बनेपामा बादे २०७४ सालको स्थानीय तह निर्वाचनमा झन्डै दुई हजार मतान्तरले एमालेबाट निर्वाचित भएका थिए । यसअघि बनेपामा कांग्रेस उम्मेदवारले जित्दै आएका थिए । छिमेकी नगर धुलिखेल र पनौतीमा मेयर उम्मेदवार दोहोरिँदा बाँस्कोटाले अन्तिम समयमा धोका दिएको बादेको दाबी छ ।

पूर्वसंचारमन्त्री समेत रहेका काभ्रेका एमाले ईन्चार्ज बास्कोटाले बादेलाई बनेपाको मेयरमा दोहो¥याउने आश्वासन दिए पनि रत्नकुश रन्जितकारलाई टिकट दिएका थिए । एमालेले बनेपाको उपमेयरमा अधिवक्ता विमला सापकोटा दाहाललाई उठाएको छ । रत्नकुशले जिते बनेपाली जनतालाई बेइमानी गर्ने भएकाले सचेत गराउनका लागि मेयर पदबाटै राजीनामा दिएको बादे बताउँछन् ।

बनेपा बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो । २०६४ सालको संविधान सभा निर्वाचनमा बागमतीमा एमालेको विऊ जोगाएका कृष्णप्रसाद सापकोटालाई पन्छाउँदै २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बाँस्कोटाले टिकट पाएका थिए ।

तर, कमजोर धरातलका कारण बाँस्कोटा संविधान सभाको दोस्रो निर्वाचनमा पराजित भएका थिए । एमाले र माओवादी केन्द्र मिलेपछि भने संघीय निर्वाचन बाँस्कोटा निर्वाचित भएका थिए । बाँस्कोटालाई आगामी निर्वाचन जित्न कठिन रहेको काभ्रेका एक नेताले दृष्टिलाई बताए ।

काभ्रेका पूर्वसांसद कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा र शिवबहादुर देउजा नेकपा (एकीकृत समाजवादी)को संगठन निर्माणमा जुटिरहेका छन् । बास्कोटाको निर्वाचन क्षेत्रका प्रदेश सांसदद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुँमागाई पनि एकीकृत समाजवादीमै क्रियाशील छन् । हुँमागाई एकीकृत समाजवादीबाट बागमती प्रदेश सरकारको मन्त्री छन् ।

कांग्रेसको गढको रुपमा परिचित बनेपामा बादे २०७४ सालको स्थानीय तह निर्वाचनमा झन्डै दुई हजार मतान्तरले एमालेबाट निर्वाचित भएका थिए । यसअघि बनेपामा कांग्रेस उम्मेदवारले जित्दै आएका थिए । छिमेकी नगर धुलिखेल र पनौतीमा मेयर उम्मेदवार दोहोरिँदा बाँस्कोटाले अन्तिम समयमा धोका दिएको बादेको दाबी छ ।

गुटगत राजनीतिका कारण बाँस्कोटाले काभ्रेमा एमालेलाई कमजोर बनाएको कार्यकर्ताको गुनासो छ । काभ्रेका एमाले पीडित धेरै कार्यकर्ताहरुले स्थानीय निर्वाचनपछि पार्टी परित्याग गर्दै छन् ।

विगतमा केन्द्रमा केपी शर्मा ओली शक्तिमा नहुँदा पनि काभ्रेमा ओली गुट बलियो थियो । तर, ओलीले असंवैधानिक रुपमा दुई दुई पटक संसद विघटन गरेपछि ओली गुट एमालेभित्र पलनउन्मुख बन्दै गएको छ ।

पोखरेलीलाई एमालेबाट धोका

नेकपा (एमाले)ले २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरेली जनतालाई मोनोरेल र मेट्रोरेलको सपना बाँडेको थियो । त्यही सपनाको जगमा एमालेले निर्वाचन जित्यो । एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदा प्रतिद्धन्दी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए । ५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङ उपमेयर बनेका थिइन । अहिले परिस्थिति फेरिएको छ ।

पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य मेयरका उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा जिसीलाई जिताउने चुनावी कमाण्डर आचार्य गठबन्धनको सहयोगमा ८५ हजार मत ल्याएर निर्वाचन जित्ने बताउँछन् ।

आचार्यले ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा अघि सारेका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार लगायतका विषयलाई प्राथमिकतामा राखेका छन् । २०७४ मा १ लाख ६८ हजार ६८ मतदाता रहेकोमा अहिले ३९ हजार ६४५ मतदाता थपिएका छन् ।

आचार्यको प्रतिष्पर्धी एमालेका कृष्णबहादुर थापा छन् । एमालेले दीपक पौडेललाई पोखराको मेयरको टिकट दिए पनि एक गहना पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको टिकट खोसेर विकल्पको रुपमा थापालाई अगाडि सारेको हो ।

थापा पनि विवादमा जातीय विभेदको मुद्धामा मुछिएका छन् । विवादित थापाले विगतमा असफल भएको मोनोरेल र मेट्रोरेलको सपना फेरि एक पटक पोखरेली जनतालाई बाँडेका छन् । रोचक पक्ष के छ भने, अघिल्लो प्रतिवद्धता पत्रलाई कागजको पानामा सीमित गर्ने मेयर जिसी निर्वाचन आचारसंहित उलंघन गर्दै एमाले उम्मेदवारको चुनावी घोषणपत्र सार्वजनिक गर्न पुगेका थिए । प्रतिवद्धता पत्रअनुसार काम नगरेको भन्दै पोखरेली जनता एमालेप्रति रुष्ट छन् ।

देशका ६ वटा महानगरपालिकामध्ये काम गर्न असफल महानगरको सूचीमा पोखरा अग्रस्थानमा आउँछ । तर, एमालेले फेरि जनतालाई झुक्याउन पोखरामा मोनोरेल, मेट्रोरेलसहित पोखराबाट लुम्बिनीसम्म रेलमार्ग बनाउने जस्ता हावादारी चुनावी सपना बाँडेको छ । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार आचार्यबाट आत्तिएर एमालेले विगतमा असफल भएको प्रतिवद्धता दोहो¥याएको पोखरेली जनताको बुझाइ छ ।

यसअघि ०७४ को निर्वाचनमा पनि एमालेले आफनो घोषणा–पत्रमा रेलदेखि फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसम्मका प्रतिबद्धता जनाएको थियो । पाँच वर्षमा ती कामको योजनासम्म बनेन । बजेटको त कुरै छाडौँ ।

निर्वाचन आचारसंहित उल्लंघन

निर्वाचन आयोगले गत २५ चैतदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लत्याउँदै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी भएर भाषण गरेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित मेयर र उपमेयरका उम्मेदवारसहित जिसीले समेत एमालेको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । आचारसंहित विपरित उनले एमालेका उम्मेदवारलाई जिताउन सार्वजनिक अपिलसमेत गरेका छन् । आचारसंहिता विपरित एमालेको घोषणा–पत्र सार्वजनिक गर्ने कार्यक्रम पोखरा महानगरपालिका–१६ का अध्यक्ष जीवन आचार्यले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्