Logo
Logo

प्रहरीको तालिममा चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीका सरुवा तथा बढुवामा हुने चलखेल सामान्य भइसक्यो । चलखेल गर्न नसक्नेहरुको भविष्य प्रहरीमा अन्धकार हुँदै आएको छ ।

सरुवा बढुवा मात्र होइन तालिममा समेत यस्तै हुने गरेको छ । गृहमन्त्री र प्रहरी महानिरीक्षकका भक्तहरुमात्र विदेश तालिममा जान पाउने गर्दछन् । यो अहिलेको होइन पहिलेदेखिकै ट्रेन्ड हो ।

तालिममा हुने चलखेलकै कारण अहिले अमेरिकाको एफबीआई तालिम गुम्ने अवस्थामा पुगेको छ । अमेरिकी दूतावासले दिएको मादपण्डविपरीत नाम सिफारिस भएपछि तालिमको कोटा नै रद्द हुने अवस्थामा पुगेको स्रोत बताउँछ ।

त्यस्तै वन्यजन्तुसम्बन्धी एक तालिममा पनि वन्यजन्तुसम्बन्धी अपराधको क्षेत्रमा कामै नगरेका प्रहरी अधिकृतहरुलाई पठाउन लागिएको छ । डीआईजी विश्वराज पोखरेल, एसएसपी रामदत्त जोशी र एसपी मुकुन्द मरासनीलाई पठाउने निर्णय भएको छ । तर, जोशी मानवअधिकार सम्बन्धी कारबाहीमा परेकाले उनको नाम दूतावासले नमान्ने भएकाले त्यसमा एसपी सानुराम भट्टराईको नाम हाल्न लागिएको स्रोत बताउँछ ।

सो तालिमका लागि छानिएका एसपी मरासनी अख्तियारको छानबिनमा रहेका व्यक्ति हुन् । नक्कली चालक खडा गरी वास्तविक चालकलाई उन्मुक्ति दिने खेलमा उनीमाथि आयोगले छानबिन गरिरहेको छ ।

हाल गैंडाकोटको घटना बाहिर आएपछि सो घटनाको बारेमा पनि आयोगमा छानबिन सुरु भएको थियो । सोधपुछका लागि आयोगले मरासनीलाई बोलाइसकेको छ । उनै व्यक्तिलाई आईजीपीले अमेरिका तालिममा पठाउन लागेपछि धेरै अनौठो मानेका छन् ।

विदेश तालिमहरु विदेश घुम्ने अवसरमात्र हुने गरेको छ । जसलाई त्यससम्बन्धी तालिमको आवश्यकता छ, त्यो हेरिने गरेको छैन । जसकारण विदेश तालिम पनि प्रहरीमा एउटा नीतिगत भ्रष्टाचार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्