Logo
Logo

योजनाविद् चैतन्य सुब्बाको निधन


2.3k
Shares

काठमाडौं । योजनाविद् चैतन्य सुब्बा (मेन्याङ्बो)को निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट पीडित मेन्याङ्बो पछिल्लो समयमा मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत थिए ।

उनको मंगलबार राति १० बजे ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ताप्लेजुङको साविक थेचम्बु आम्बेबुङमा विसं. २००३ भदौ २९ गते जन्मेका मेन्याङ्बो एक श्रीमती, एक छोरी र दुई छोरासँग काठमाडौं सिफलमा बस्दै आएका थिए ।

मेन्याङ्बोले योजना, लागूपदार्थ रोकथाम र लिम्बु संस्कृतिसम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । यस्तै उनले सन् १९९० मा ‘ट्रिटमेन्ट अफ ड्रग डिपेन्डेन्स इन नेपाल : एप्रोचेज एन्ड एक्सपिरियन्सेज’, ‘ड्रग प्रिभेन्स एजुकेसन : टिचर ट्रेनिङ मेन्यअल, स्टुडेन्ट्स एन्ड ड्रग इन नेपाल’‚ ‘अर्बान ड्रग युजर्स : अ रिसर्च रिपोर्ट’, ‘ड्रग एब्युज प्रिभेन्सन एजुकेसन टिचर्स पर्स्पेन्टिभ्स’, ‘एन इभ्याल्युएसन अफ स्कुलबेस्ड ड्रग एजुकेसन प्रोगाम : अ रिसर्च रिपोर्ट’लगायत पुस्तकहरू लेखेका छन् ।

मेन्याङ्बो सुरुमा लागूपदार्थको विषयमा खोज/अनुसन्धान गर्दै आएका थिए । पछि नेपलमा लागूपदार्थ दुरुपयोग निवारण संघको कार्यकारी निर्देशक, इन्टरनेसनल अर्गनाइजेसन अफ गुड टेम्पलर्स साउथ एन्ड साउथ इस्ट एसिया रिजनल काउन्सिलको कार्यकारी सदस्य, लागूऔषध माग घटाउन गृह मन्त्रालयका लागि यूएनडीपीको परियोजना कन्सल्ट्यान्ट भएर काम समेत गरेका थिए ।

मधुमेह, उच्च रक्तचापले च्यापे पनि पछिल्लो डेढ दशकयता उनी याक्थुङ मुन्धुम, युमासाम्योको दर्शनको अध्ययन अनुसन्धान र व्याख्या, पुनर्व्याख्या गर्दै वृहत् पुस्तक लेखनमा व्यस्त थिए । मेन्याङ्बोलाई अचानक मुटुको चारवटै भल्बले काम नगरेपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा भर्ना भएर ओपन हार्ट सर्जरी गरेपछि आइसीयूमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्