Logo
Logo
विचार

क्रान्तिकारी वर्गकै अंग बन्ने त्यो अठोट



मे महिनाको यो पहिलो हप्ता– अन्तर्राष्ट्रिय मजदुर दिवस भर्खरै मनाइयो । हरेक वर्षको यो महिना सम्झनामा विगत टुक्रा टुक्रामा फर्केर आउँछ । अहिले त मे दिवसका दिन मजदुरले भन्दा गैर मजदुरहरु नै धेरै भाषण गरेको सुनिन्छ ।

कुनैबेला, मे दिवसको अर्थ भिन्दै हुन्थ्यो । एउटा उदेश्य पुरागर्न विद्यालयको शिक्षकका रूपमा विभिन्न उपेक्षित समुदायको बीचमा पुगेर कामको केही अनुभव बटुलिसकेपछि पनि समाज रूपान्तरणको चाहना झनै तीव्र हुन थाल्यो ।

उमेर न हो, धैर्य कम थियो । पर्खिनै सकिन । एकदिन अचानक निर्णय गर्न पुगें– मजदुर नै बनेर कारखानामा पस्ने र ‘क्रान्तिकारी वर्ग’कै पक्का अंग भएर देशमा छिटो भन्दा छिटो परिवर्तन ल्याउने । यस्तो निर्णय गर्ने आँट कहाँबाट आयो, थाहा छैन । आफूलाई बाटो देखाउने मार्गदर्शक ठानिएका मानिसहरूसँग सम्बन्ध नै अचानक टुटेको बेला थियो त्यो ।

आफूभन्दा अगाडि बढिरहेको कुनै संगठित शक्तिको भरोसा र आड पनि थिएन । आफै बाटो खोज्नुको विकल्प देखिन । किशोरावस्था पार भैसकेको उमेरले पनि हतार लगाएको थियो– केही योगदान दिने भनेकै युवावस्थामा हो भन्ने लाग्थ्यो । त्यसैले नै स्थिर हुँदै गरेको एउटा अवस्थाबाट अर्को नितान्त फरक परिस्थितिमा हामफाल्ने निर्णय गरेँ, २०३५ अन्त्यतिरको समय थियो त्यो ।

त्यो बेलाको दैनिक पत्रिका भनेको ‘गोरखा पत्र’ थियो । भर्खरै निस्केको एउटा विज्ञापनमा मेरो आँखा परेको थियो । बालाजु औद्योगिक क्षेत्रको बिस्कूट कारखाना नेबिकोमा महिला मजदुर मागेको थियो । मैले त्यसैलाई आफू ‘क्रान्तिकारी वर्ग’मा रुपान्तरण हुने ठूलो मौका ठानेँ । तर कसरी पस्ने ? प्राइमरी स्कूलको स्थायी शिक्षिका थिएँ ।

त्यहाँ मागेको शैक्षिक योग्यता ७ कक्षा पास भए पुग्ने । त्यो भन्दा बढी पढेको मजदुर कारखानाको निम्ति टाउको दुखाई हुनसक्छ भनेर पनि होला अक्षर मात्र चिनेको महिला मजदुर खोजिएको थियो । अब एउटा नाटकै गरेर कारखानाभित्र पस्नु थियो ।

हतार–हतार निवेदन दिएँ । कारखाना पस्नु अगाडि अन्तर्वार्ता दिनु पर्ने रहेछ । त्यो दिन स्कूल नपुगिकन पहिले साथी जमुना श्रेष्ठको घरमा पुगें र साथीकै आमासँग एउटा पुरानो धोती मागें । आमाले एउटा कालो रंगको पुरानो सारी दिनुभयो । त्यहीं बसेर आफ्नो कपडा फेरें, ऐना पनि हेरें–सात कक्षा मात्र पढेकी मजदुरको काम खोज्ने बेरोजगार केटी जस्तो देखिएँ कि देखिइन भनेर ।

घर फर्कन एउटै दिशा भएको थाहा पाएर न्युरोडसम्म हामी दुई– अष्टलक्ष्मी र मलाई पनि लिफ्ट दिएका थिए । त्यो मान्छेको अनुहार बिर्सेको थिइन र उनले त्यहीबेला भनेको पनि सम्झिएँ– ‘नेबिकोको मेनेजर’ भनेर । संयोगले उनैले मेरो अन्तरवार्ता लिंदै थिएँ । तर भिन्न परिस्थिति र भिन्दै रुपरंगमा देखेको भएर ठम्याउन सकेनन् होला । त्यो दिनको अभिनय सफल भयो । म मजदुर हुन पाएँ ।

आमा छक्क परी हेरिरहनु भयो, साथी जमुना र बहिनीहरु सबै काम र स्कूल गइसकेका थिए । कारखानामा १ बजे पुगे हुने । त्यो बीचमा खाली भएको केही समयमा एक्लै बसी रिहर्सल गर्ने विचार गरेँ । कलेजमा एकपल्ट नाटक खेल्ने मौका पनि पाइसकेकोले त्यो अभिनयको अनुभवलाई पनि यहाँ प्रयोग गर्न खोजेँ ।

कारखाना पुग्दा साँच्चै कामको खाँचो भएका थुप्रै बेरोजगार केटीहरु जम्मा भइसकेका रहेछन् । त्यही लाइनमा म पनि पसें । भित्र गएर फर्कनेहरुसँग जिज्ञासु भएर सोधपुछ पनि गरें– सामान्य जोडघटाउ र किन काम गर्न चाहेको भन्ने खालका प्रश्न सोधेका रहेछन् ।

अन्तर्वार्तासँग अरु डराइरहेको थाहा पाएँ । ‘नडराउनु’ भनें संगैका सबैलाई । आफ्नो पालो आएपछि भित्र पसें । कुनै–कुनै फिल्ममा देखेको जस्तै ईन्टरभ्यु लिन दुइतीनजना हाकिमहरु लस्करै ठूलो कुर्सिमा बसेका रहेछन्, एक–एक गर्दै पालैपालो प्रश्न गरे । कालो मैलो सारीमा, कपाल पनि राम्रो नकोरेकी म कस्तो देखिएकी हुँला उनीहरुको आँखामा कुन्नी !

उस्तै प्रश्नहरु दोहर्याए मसँग पनि

– हिसाब जानेको छ– जोड घटाउ ?
अलि अलि मात्र जानेको छु ।

उनीहरुलाई ठीक लागेछ– ‘ठीक’को चिन्हो लगाए ।

– किन कामगर्न आएको त ? रमाइलो थियो प्रश्न ।
नरमाइलोसँग प्रश्नको जवाफ दिएँ– ‘पैसाको निम्ति !’

–पहिले कतै काम गरेको छ कि छैन ?
पढ्न पाएको भए काम पाउँथें हुँला । सिलाईको काम सिकेको थिएँ । राम्रो पैसा आउँदैन । यहाँ अलि धेरै आउँछ कि भनेर ।

अन्तर्वार्ता लिने मध्ये एकजना हाकिमले मलाई निकै ध्यान दिएर चिन्याजस्तै गरी हेरिरह्यो । मैले भने नचिन्याजस्तै गरेँ ।

–बिहान ठीक सात बजे पुग्नु पर्छ नि सक्छ्यौ त ?
मेरो घर धेरै टाढा छैन सक्छु ।

सुरुको तीन महिना ट्रेनिङको निम्ति बिहान सात देखि १० बजे सम्मको मात्र काम थियो ।

मेरो जवाफ चित्त बुझेछ क्यारे । अर्को एउटा हाकिमले सोध्यो
–तिमीले त अलि पढेको जस्तो पनि छ, नयाँ मेशिन चलाउन सक्छौ त ?
शब्द खस्नुभन्दा अगाडि नै जवाफ दिएँ– कामै गर्छु भनेर आएपछि, गर्छु नि, नजानेको काम सिक्छु …

‘ओ के ! यो केटी पास !’ भन्ने खालको संकेत पाएँ । म हाँस्नु पर्ने मान्छे, हाँस्दै बाहिर निस्कें ।

बाहिर बाँकी केटीहरुलाई भित्र गएर नडराई बोल्नको निम्ति दम थपिदिएँ ।
एकछिन अर्कोतिर फर्केर आफैलाई भनें– ‘धन्न चिनेन त्यो मान्छेले !’

दुई वर्ष मात्र अघि बालाजुको स्वीमिङ पूलमा अष्टलक्ष्मी र म स्वीमिङ खेल्न गएका थियौँ । त्यो दिन केटीहरु मात्र स्वीमिङ खेल्ने दिन थियो । हामीसँगै स्वीमिङ गरेकी एउटी केटीलाई लिन उनको ब्वायफ्रेण्ड– एउटा धनाढ्य देखिने केटा– आएका रहेछन् । उनीहरु कारमा फर्कंदै थिए । राम्रो चिल्लो कार थियो उनको ।

घर फर्कन एउटै दिशा भएको थाहा पाएर न्युरोडसम्म हामी दुई– अष्टलक्ष्मी र मलाई पनि लिफ्ट दिएका थिए । त्यो मान्छेको अनुहार बिर्सेको थिइन र उनले त्यहीबेला भनेको पनि सम्झिएँ– ‘नेबिकोको मेनेजर’ भनेर । संयोगले उनैले मेरो अन्तरवार्ता लिंदै थिएँ । तर भिन्न परिस्थिति र भिन्दै रुपरंगमा देखेको भएर ठम्याउन सकेनन् होला । त्यो दिनको अभिनय सफल भयो । म मजदुर हुन पाएँ ।

यतिबेला धेरै समयको दुरीबाट फर्केर हेर्दैछु ती दिनलाई, त्यो क्षणलाई । त्यो बेला आफ्नै खुसीमा बलम्बुको स्कूलमा काम गर्थें । स्कूल र बच्चाहरु अनि अभिभावकहरुले समेत अत्यन्त माया गर्ने ठाउँ थियो– त्यो किसान बस्ती ।

झट्ट स्कूल छोड्नु सजिलो थिएन मलाई । बिहान बालाजु पुगेर मजदुरको काम गर्थेँ, बालाजुकै कुनै खाजा पसलमा खाना खान्थेँ, अनि फेरि अलि ढिलै भएपनि बलम्बुसम्म पुग्थें पढाउन ।

त्यो बेला निकै जाँगरिली र फुर्तिली पनि थिएँ सायद– काठमाडौंका दुई कुना वारपार गरिरहन्थेँ । मन लगाएर काम गर्थें, नयाँ काम सिक्थें र उदेश्यको निम्ति समर्पित थिएँ । आफूसँग दुई पखेटा भएसरी कहिले हिंड्थें कहिले मनमनै उड्थें पनि । एकै दिन दुई ठाउँमा कामगर्दाको अनुभव बटुल्दैथिएँ– बिहान मजदुर बस्तीमा र दिउँसो किसान बस्तीमा !

प्रतिक्रिया दिनुहोस्