Logo
Logo

निर्वाचनको मुखमा एमालेमा असन्तुष्टि



काठमाडौं । नेकपा (एमाले)को नेतृत्वले विचौलिया र अवसरवादीलाई टिकट दिएको भन्दै कार्यकर्तामा चरम असन्तुष्टि छाएको छ । कतिपय कार्यकर्ता नेतृत्वको निर्णयलाई चुनौती दिँदै स्वतन्त्र रुपमा उम्मेदवार बनेका छन् । कार्यकर्ताको योगदानलाई लत्याउदै एमालेले स्थानीय निर्वाचनमा अवसरवादीलाई टिकट दिएपछि कार्यर्ताको असन्तुष्टि विस्फोट हुने अवस्था आएको छ ।

ओखलढुंगाको लिखु गाउँपालिकामा बेदाग नेता तथा कार्यकर्ता हुँदाहुँदै शक्तिको आडमा एमालेको टिकट पाएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी नै जारी भएको छ । उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो । जनताको घरदैलोका भोट माग्न हिड्नुपर्ने उम्मेदवार चुनावको मुखमा फरार छन् ।

विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो । त्यसयता उनी फरार रहेको बताइएको छ । ‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ। अदालतको आदेश कार्यान्वयन हुन्छ, हामी खोजतलास गर्छौं,’ ओखलढुंगा प्रहरीले भनेको छ ।

यस्तै, एमाले अध्यक्ष केपी ओलीले काठमाडौँ महानगरपालिकामा विवादित केशव स्थापितलाई टिकट दिएपछि वर्तमान मेयर विद्यासुन्दर शाक्य र संघीय सांसद रामवीर मानन्धरलगायत थुप्रै नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । शाक्यले एमाले र काठमाडौँको प्रतिनिधित्व गर्नै नसक्ने जिकिर उनीहरूको छ ।

स्रोतका अनुसार एमालेका इमान्दार कार्यकर्तालाई पन्छाएर साधारण सदस्यसमेत नभएकी सुनिता डंगोललाई ओलीले टिकट दिएपछि महिला नेतृहरू पनि विद्रोहको तयारीमा जुटेका छन् । मेयरमा, यौन दुव्र्यवारको आरोप लागेका स्थापित र उपमेयरमा पार्टीको साधारण सदस्यसमेत नभएकी डंगोललाई बोक्नुपर्दा अखिल नेपाल महिला संघ काठमाडौँको जिल्ला नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ ।

अनेमसंघकी एक नेतृले दृष्टिसँग भनिन्, ‘भोट माग्न पनि लाज लाग्ने अवस्था छ । आफ्नै पार्टीले हारोस् त कसरी भन्नु तर, खटिएर भोट माग्ने अवस्था छैन ।’ एमाले कार्यकर्ताहरू काठमाडौँका ११ वटै पालिकामा पार्टी हार्ने हिसाबकिताब गरेर बसेका छन् ।

यस्तै, ओलीको गृहजिल्ला झापाको मेचीनगरमा एमालेले मिना पोखरेललाई उठाएपछि कार्यकर्तामा चरम असन्तुष्टि छाएको छ । इमान्दार कार्यकर्ताको पक्षमा उभिँदा डिल्ली घिमिरे, खिलबहादुर गिरी, तिलक न्यौपाने, मेघनाथ बाँस्तोला, भानु ढुंगेल, तुलसा धिताल, हरिचरण चौलागाईँसहितका आठ नेतालाई एमालेले पार्टी सदस्यसमेत नहरने गरी कारबाही गरेको छ ।

यस्तै, मकवानपुरमा टिकटमा भेदभाव भएको आवाज उठाउँदा कृष्ण कँडेल, विशालराज महत, अक्कलबहादुर क्षेत्री, रत्नबहादुर ब्लोन, रमेश पौडेललगायतका स्थानीय नेता कारबाहीमा परेका छन् । एक नेताले भने, ‘पार्टीले विचौलियालाई बोक्यो, हामीले इमान्दार कार्यकर्तालाई न्याय हुनुपर्छ भन्दा कारबाहीको डन्डा खानुप¥यो ।’

भोजपुरलगायतका जिल्लाको अवस्था पनि उस्तै छ । योगदान र विधि विधानको कुरा उठाउँदा भोजपुरका स्थानीय नेता दौलत कुलुङ, कुमार श्रेष्ठहरू एमालेको कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्