Logo
Logo

धेरै चिह्नमा भोट हाल्दा बदर हुने जोखिम



काठमाडौं । मतदाता शिक्षा प्रभावकारी नहुँदा यसपल्टको स्थानीय निर्वाचनमा बदर मत बढ्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतदातालाई सही तवरले मतदान गर्न सिकाउन नसकेको भन्दै आलोचना बढिरहेको छ ।

अहिले गठबन्धनमा आबद्ध दलका मतदाताले धेरै ठाउँमा मत हाल्नुपर्ने अवस्था छ । पाँच दलहरूबीच गठबन्धन भई साझा उम्मेदवार तय गरिएको अवस्थामा सबै दल तथा उम्मेदवारको चिह्न मतपत्रमा राखिँदा अशिक्षित मतदाता झुक्किने सम्भावना छ । मतपत्र पनि झुक्किने खालका रहेको गुनासो सर्वसाधारणको छ ।

मतपत्र आवश्यकताभन्दा भद्दा र लामो छ । मतपत्रमा धेरै चिह्न भएका कारण मतदाता अन्योलमा छन् । चिह्न छुट्याउन सकस छ । मतदाता नै झुक्किने ठूला मतपत्र छन् । यसपल्ट मतपत्रकै कारण कम्तीमा पाँच प्रतिशत मत बदर हुने अनुमान विश्लेषकहरूको छ । मतदाता शिक्षा प्रणाली केन्द्र र सदरमुकाममा मात्र फोकस हुँदा तल्लो तहमा समस्या देखिएको छ । मतदातालाई मत हाल्ने सही तरिका नै सिकाउन सकिएको छैन ।

यसपल्टको निर्वाचनमा पनि पुरानै ढर्रा देखिएको छ । विकटवर्ती गाउँ, दुर्गम र अनाक्षर मतदाताको आवश्यकताअनुसार मतदाता शिक्षाको कमी भएको आकलन भएको छ । यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने पूर्वानुमान छ ।

७० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुँदा करिब ६ लाख मत खेर जाने अवस्था छ । तर यसपटक स्थानीय निर्वाचनमा मात्रै मतदाता शिक्षामा २४ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये नौ करोड रुपैयाँ त मुलुकभरका खटिएका मतदाता शिक्षक स्वयंसेवकका लागि खर्च गरिने कार्यक्रम छ  ।

मतदान केन्द्रमा आउने मतदातालाई मत हाल्ने तरिका सिकाउन, टेलिभिजन, रेडियो, पत्रपत्रिका, टेलिफोन, सामाजिक सञ्जाल, पर्चा सामग्रीका लागि भनेर यति धेरै रकम छुट्याइएको हो ।

मतदाता शिक्षा अभियान निर्वाचन हुनुअघि १६ दिनदेखि महिना दिनसम्म चल्ने भनिएको छ  । तर निर्वाचनको मुखमा लक्षित वर्गमा कार्यक्रम प्रभावकारी नभएको चिन्ता सर्वत्र उठिरहेको छ । जसका कारण मतदाताको मन र विचार एकातिर भए पनि ठूलो परिमाणमा मतपत्र बदर हुँदा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउन सक्ने सम्भावना छ ।

निर्वाचन आउन अझै एक साता बाँकी रहेको स्थितिमा बदर मत न्यूनीकरण गर्न मतदाता शिक्षा प्रणालीलाई घरदैलोमा केन्द्रित गर्न जरुरी देखिएको छ । नत्र २४ करोड पनि स्वाहा हुने, मत बदर संख्या पनि बढ्ने अवस्था आउने छ ।

प्रतिक्रिया दिनुहोस्