Logo
Logo

कमल थापाको पाउमा सूर्य


अजय बनेपाली


दुईतिहाइ हाराहारीको पार्टी लथालिंग पारेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले देश बनाउँछु भन्दै भौतारिरहेका छन् ।भाषणमा विषबमन गर्दा पनि पार नलागेपछि गत आइतबार ओलीले ६७ बुँदे पुरानो पुलिन्दा बाचन गर्न भ्याएका छन् ।

सत्तामा जानु अगाडि तयार गरेको पुलिन्दा पढ्दै गर्दा ओलीले दुईतिहाइको सरकारको नेतृत्व गरेको थिएँ भन्ने छनक नै पाउन सकेनन् । आफू सर्वेसर्वा भएको बेला पार्टीलाई कहाँ पुर्याएँ भन्ने लेखाजोखा गर्न ओली तयार देखिँदैनन् ।

ओलीका योजना र कर्ममा आकाश–पातालको फरक छ । जनतालाई एकथोक भनेर झुक्याउने र व्यवहारमा अर्कै गर्ने ओली संस्कृति नै बनिसकेको छ । ओलीले जतिसुकै छलछाम गर्न खोजे पनि असंवैधानिक रुपमा संसद् विघटन, यती, ओम्नी, वाइडबडी, बतास लगायतका काण्ड जनताले भुलेका छैनन् ।

असंवैधानिक रुपमा संसद् विघटन गर्नुको भित्री रहस्य प्राप्त उपलब्धिलाई समाप्त पार्ने नै थियो भन्ने तथ्यलाई ओलीले जति लुकाउन खोजे पनि निर्वाचनमा कमल थापाहरूसँगको साँठगाँठले उदांगो पारिदिएको छ ।

ओलीले आइतबार वाचन गरेको ६७ बुँदेमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना उल्लेख गरेका छन् । तर, व्यवहारमा उनले निर्वाचनमा कमल थापाको पाउमा सूर्य चिह्न चढाइसकेका छन् । कार्यकर्ताको मन भाँडिएको छ, मत बाँडिएको छ ।

हिजोका सहकर्मीहरू कतै कलममा, कतै हसिया हथौडामा त कतै रुख चिन्ह्मा भोट बाँडने ठाउँमा पुगेका छन् । ओली भने राजाका खम्बा कमल थापाका शिर–पाउमा सूर्य टाँस्ने अवस्थामा पुगेका छन् । र, ओली संसद् र संविधान बचाउने पाँचदलीय गठबन्धनलाई धारे हात लगाउँदै छन् ।

भन्न त उनले ६७ बुँदेमा ‘चरम पदीय स्वार्थ, अहंकार, कुण्ठा र इष्र्या राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको यो प्रहारलाई सार्वभौम नेपाली जनताकै आदेशबाट परास्त गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी सार्वभौम नेपाली जनतासमक्ष आएका छौँ’ भनेर चोर औंला अरुतिर तेस्र्याएका छन् ।

तर, चारवटा औंला आफैतिर फर्किएको ओलीले भुलेका छन् । अहंकार, दम्भ र कुण्ठा पर्याय ओलीले पटकपटक संसद् विघटन गरेर संविधानको धज्जी उडाएको बिर्सेर यी शब्द कसरी पढ्न सके होलान् ?

त्यति मात्रै होइन पुनःस्र्थापित संसद्लाई निरन्तर अवरोध गर्दै आएका ओलीले संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनाइयो भन्न पनि पछि परेनन् ।

लिखितममा संसद्को मायामोह देखाए पनि व्यवहारमा भने आफैँले संसद्लाई बन्धक बनाएको ओलीले बिर्सेका छन् । उनको यस्तो बिर्सने बानी धेरै ठाउँमा प्रकट भएको छ ।

भन्न त ओली ‘लोकतन्त्रलाई जीवन पद्धतिका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौँ’ भन्छन् तर त्यो आधारस्तम्भ कस्तो हो भन्ने आफ्नो पार्टीको चितवन महाधिवेशनमा देखाइसकेका छन् ।

स्थानीय तहबाट पार्टीका महाधिवेशन प्रतिनिधि कसरी लिँड्को लगाएर ल्याइएका थिए भन्ने कुरा सायद उनले बिर्सिसके होलान् । हेक्का भए सम्झे हुन्छ, देशभरिका ६ हजार ७ सय ४३ वडामा एकैपटक वडा अधिवेशनको उद्घाटन ओली आफैँले एक क्लिकमा गरे ।

पहिला–पहिला त पार्टीका यस्ता कार्यक्रममा धेरै नेता कार्यकर्ताको सहभागिता हुन्थ्यो । वडा तहको कार्यक्रममा जिल्ला वा त्यो भन्दा माथिल्लो कमिटीका नेता प्रमुख अतिथि, अतिथि बन्थे । नेतृत्व विकासको अवसर पनि हुन्थ्यो । तर, ओलीराजमा ती सबै परम्परा हटे ।

वडाको कार्यक्रममा पनि प्रमुख अतिथि, विशिष्ट अतिथि वा अतिथि सबै ओली नै ओली । एक हिसाबले वडा अधिवेशन पनि ओलीमय नै भयो । अहिले आएर कुरा भने स्थानीय तह आधार स्तम्भ रे ! आखिर कुरै त हो !

दुईतिहाइको सरकारको नेतृत्व गरेर वालुवाटार छिरेका ओली लज्जास्पद तरिकाले बालकोटको यात्रा तय गर्दासमेत सडकमा हर्षबढाइँ गर्ने कार्यकर्ताले घेरिन्जेल ओलीले कस्तो पार्टी बनाउलान् ? भन्ने खासै कौतुहलताको विषय रहेन ।

मती नबिगारी भाँती पनि पु¥याएको भए अहिलेसम्म नेकपाको दुईतिहाइको सरकार रहिरहन्थ्यो । ओलीले गफ हैन काम गरेको भए स्थानीय तहको लागि भोट माग्न जीर्ण शरीर लिएर मेची–महाकाली भौंतारिनुपर्ने थिएन ।

अनि कमल थापाहरूलाई सूर्य चिह्न भिराउनुपर्ने पनि थिएन । कमल थापाको पाउमा सूर्य ! हिप्हिप् हुर्रे ! भन्नुपर्ने अवस्था आउने थिएन । दुःख पाइस् मंगले आफ्नै ढंगले ।

प्रतिक्रिया दिनुहोस्