Logo
Logo

निर्वाचनको मुखैमा देउवा किन गए सिंगापुर ?


3.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सुटुक्क सिंगापुर उडेका छन् । उनी गएराति ११ः ३० बजे सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले जानकारी दियो ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए । सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए ।

तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधिसभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर थिए । उनी मतदानका लागि डडेल्धुरा नजाने समेत समाचारहरु सार्वजनिक भएका थिए । यसैबीच उनी सुटुक्क विदेश उडेका हुन् ।

देउवा नियमित स्वास्थ्य उपचारका लागि सिंगापुर उडेको बताइन्छ । गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आफ्नो निवास बूढानीलकण्ठमै आक्रमणमा परी घाइते भएका देउवाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनी पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।

यसपटक पनि त्यसैको ‘फलोअप’का लागि उनी सिंगापुर गएको दाबी गरिएको छ । तर, यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मुखैमा देउवा सिंगापुर उड्नुले राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेका पार्टीमा चर्चा छ । देउवाको यो भ्रमणका पछाडि गहिरा अर्थहरू लुकेका देखिन्छन् ।

पहिलो त, पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्माको धार बलियो बन्दै गएको र टिकट वितरणमा आफ्नो पकड खुम्चिएपछि देउवा निर्वाचनको सम्भावित परिणामप्रति ‘अनुत्साहित’ देखिएका हुन् कि भन्ने आशंका बलियो छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआउने संकेत पाएपछि हारको नैतिक जिम्मेवारीबाट उम्किन र पार्टीभित्रको आन्तरिक विग्रहबाट टाढिन उनले यो समय रोजेको देखिन्छ ।

अर्कोतर्फ, नेपालको राजनीतिमा निर्णायक मोड आउनुअघि शीर्ष नेताहरू सिंगापुर वा बैंकक जाने ‘पुरानो परम्परा’ छ । निर्वाचनपछिको सत्ता समीकरण कस्तो बन्ने र नयाँ शक्ति सन्तुलनमा कसको भूमिका के हुने भन्नेबारे ‘बाह्य शक्ति’हरूसँग गोप्य परामर्श गर्न उनी सिंगापुर गएको हुनसक्ने अनुमान गरिएको छ ।

देश निर्वाचनको चटारोमा हुँदा र कार्यकर्ताहरू मतदानको पर्खाइमा रहँदा देउवाको सिंगापुर बसाईले कांग्रेसभित्रै अन्योल सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्