Logo
Logo

नेपाल प्रहरीका कार्यालय अस्तव्यस्त



काठमाडौं । करिब दुई दर्जन उच्च अधिकारीले एकैपटक अवकाश पाएपछि प्रहरीका महत्वपूर्ण कार्यालयहरु नेतृत्वविहीन बन्न पुगेका छन् । जसकारण प्रहरीका ब्यूरोदेखि प्रहरी मुख्यालयका विभागहरू हाकिम नहुँदा अस्तव्यस्त बनेका छन् ।

आइजिपी बन्न नसकेपछि एआइजी विश्वराज पोखरेल एक महिना लामो बिदामा छन् । जसकारण उनले सम्हालेको मानवस्रोत विकास विभाग नेतृत्वविहीन छ । पोखरेल मुद्दाको टुंगो नलागेसम्म प्रहरी मुख्यालय नफर्कने सम्भावना छ । १७ जेठदेखि उनको मुद्दाको सुनुवाइ सुरु हुने भएकाले फैसला आउन असार लाग्ने अवस्था छ ।

जसकारण सो विभागमा अर्का एआइजीलाई जिम्मेवारी तोक्नुपर्ने भए पनि निर्णय गरिएको छैन । जसमा सिनियर एआइजी सहकुलबहादुर थापा र रवीन्द्र धानुकमध्ये एकले जिम्मेवारी पाउने सम्भावना छ । तत्काल एआइजीको बढुवा नहुने भएकाले उनीहरुमध्ये एकलाई नै जिम्मेवारी तोक्नुपर्ने अवस्था छ । मानव स्रोत विकास विभागका एआइजी विभिन्न तहको बढुवा समितिमा हुने भएकाले निकै पावरफुल हुन्छन् ।

प्रहरी एकेडेमीमा नेतृत्व नहुँदा कामै रोकिने अवस्था आएपछि डिआइजी मुकुन्द्र आचार्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । त्यस्तै, एआइजी प्रमुख हुने सिआइबी एसएसपीको नेतृत्वमा चलेको छ । जहाँ एसएसपी कुबेर कडायत निमित्त प्रमुख छन् ।

साइबर ब्यूरो र लागुऔषध नियन्त्रण ब्यूरोको अवस्था पनि त्यस्तै छ । लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख रहेका एसएसपी हृदय थापाले अवकाश पाएपछि निमित्तको भरमा चलेको छ । महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रमुख हुनेमा डिआइजी उत्तम सुवेदीले नेतृत्व गरिरहेका छन् ।

चुनावको बेला भएकाले तत्काल बढुवाको सम्भावना छैन । मतगणता सकिएपछि जेठको पहिलो साताबाट बढुवाको गृहकार्य अघि बढाउने गृह मन्त्रालयलको तयारी छ । प्रहरीको एआइजी बढुवामा ठूलो समस्या छैन । चार पदमा सिनियर चार डिआइजीहरु उत्तम सुवेदी, मुकुन्द, अरुण बिसी र दिवेश लोहनी पर्ने सम्भावना छ ।

तर, डिआइजीका १७ पदमा भने ठूलै मारामारको स्थिति छ । एउटै ब्याचका तीन लटका एसएसपीबीच प्रतिस्पर्धा भएकाले बढुवामा आर्थिक चलखेलमा समेत केही प्रहरी अधिकारी लागेका छन् । पछिल्लो लटका एसएसपीहरु यस्तो खेलमा लागेका छन् । नवनियुक्त आइजिपी धिरजप्रताप सिंहले बढुवामा सिष्टम कायम गरिने बताएका छन् । त्यसकारण आगामी बढुवा उनको लागि पनि अग्निपरीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्