चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका मन्त्रीले चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहिताविपरित घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेको आरोप छ ।

बिहीबार चितवन एमाले अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रचण्डले मतदाता प्रभावित गरेको आरोप लगाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ ।’
राज्यका उच्च तहमा रहेका व्यक्ति नै मौन अविधमा मतदाता प्रभावित गर्न लाग्दा निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको एमालेले बताएको छ ।
‘आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं’ जिल्ला अध्यक्ष न्यौपानेले भनेका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले प्रचण्ड र मन्त्रीहरु चितवनकै मतदाता भएकाले मतदान गर्न आएको बताए । ‘एउटा नेता आउँदा नेता कार्यकर्ताले भेट्दैनन् त ? एउटा नेता आउँदा यहाँ भएका मन्त्रीहरु भेटघाट गर्नै हुन्न र ? जनतालाई पो प्रभावित नपार्ने हो त । नेता त भेटिहाल्छन नि’ उनले भने ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धीमा नेकपा एमालेका विजय सुवेदी र नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल रहेका छन् ।















