Logo
Logo

नेतालाई खादामाला लिएर स्वागत नगरौँ : गगन थापा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता तथा कार्यकर्ताहरूलाई  कार्यशैली र सोच बदल्न आग्रह गरेका छन् । सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामालासहित विमानस्थल आउने गरेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले निर्देशिका नै बनाएर पठाएको छ, नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन । नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि!’ आज बिपी स्मृति पुस्तकालय पोखराले गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । 

थापा सोमबार पोखरा विमानस्थल पुग्दा पनि नेताकार्यकर्ता स्वागतका लागि पुगेका थिए । त्यसपछि उनी स्याङ्जा गएका थिए । त्यसक्रमको घटना सम्झँदै सभापति थापाले भने, ‘कांग्रेस सभापति आएको भनेर एक जना वृद्ध बाटोमा बसेर गाडी गन्दै हुनुहुन्थ्यो, २१, २२, २३ भनेर । गनेको के भन्दा गाडी । गाडीका ताँती । यस्ता साना कुरा हुन् तर बदल्नुपर्छ,’ थापाले भने, ‘हामी आमनागरिक हौँ, आमनागरिकको कुरा हामीले सुन्न पाउनुपर्छ, बाटोमा पनि मानिसहरूसँग कुरा गर्दै हिँड्न पाइयोस् न । सभापति भनेको छ, अलगै राखेको छ, भेट्न आएका साथीहरूलाई धकेलेको छ । यो सब कुरा बदल्नुपर्छ ।’

थापाले पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनस् पार्टीमा जोड्न संवाद आवश्यक रहेको र त्यसका लागि मङ्सिर महिनाभर अभियान सञ्चालन तयारी रहेको सभापति थापाले बताए । उनले केन्द्रीय सदस्यहरूलाई अब जिम्मेवारीसहित गाउँ-गाउँमा पठाइने बताए । उनले १५ औं महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेट्दै अघि बढ्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्