Logo
Logo

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता


252
Shares

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा  छलफल भएको छ ।

The current image has no alternative text. The file name is: sasmit-pokharel.jpg

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सो अवसरमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटमा उच्च शिक्षा अध्ययनका लागि गन्तव्य मुलुक रहेको  साइप्रसमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो । यसैगरी उच्च शिक्षाको क्षेत्रमा हुँदै आएको सहकार्यलाई निरन्तरता दिई आगामी दिनमा थप विस्तार गर्ने विषयमा विचारविमर्श भएको थियो । 

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताए ।

उनले  विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधार भइरहेको स्पष्ट गरे ।

यसैगरी, राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको आपसी हितलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्