Logo
Logo

प्रेसको नाममा हुने अराजकता नियन्त्रण गर्नैपर्छ : सञ्चारमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले पे्रसलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न समेत नसक्ने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रतालाई नभई अराजकतालाई नियन्त्रण गर्न खोजेको बताए ।
विनियोजन विधेयक–२०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भने, ‘पे्रसलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि सकिँदैन, अराजकता भने नियन्त्रण गर्नैपर्छ । हामी मात्रै होइन, जो आए पनि रोक्थ्यो । स्वतन्त्रता जो आए पनि रोक्न सक्दैन ।’
मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सदनबाहिर भइरहेको छलफलको अर्थ नरहेको उनको भनाइ छ । मन्त्री बाँस्कोटाले छलफल गर्ने उपयुक्त थलो संघीय संसद् भएको स्पष्ट पार्दै भने, ‘संविधानसमेत संशोधन गर्ने हैसियत राख्ने स्थान भनेकै संघीय संसद् हो । जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भनेकै संसद् हो । यही नै छलफल हुनुपर्छ ।’
मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनै पर्ने र त्यसलाई कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले लोककल्याणकारी विज्ञापनलाई समेत थप व्यवस्थित बनाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्