Logo
Logo

विदेशीका अवैध धन्दा बढ्दै, के गर्दैछ अध्यागमन र गुप्तचर ?



काठमाडौं । एक महिनाअघि नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले पक्राउ गर्याे । प्रारम्भिक छानबिनमा उनीहरुले केही व्यापार नगरेको र शंकास्पद गतिविधि गरेको खुल्यो । तर, अहिलेसम्म उनीहरुमाथि कारबाही हुन सकेको छैन ।

प्रहरीले ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको थियो । अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको थियो । पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समयदेखि बस्दै आएका थिए । उनीहरुलाई अध्यागमनले भिसा दुरुपयोगको आरोपमा थुनामा राख्न सक्ने भएपनि दबाबको भरमा तेस्रो दिन नै छाडिएको थियो ।

पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन् । उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएपनि कारबाही हुन सकेन ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो । विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन् ।

महामारीमा पनि रोकिएन विदेशीको चलखेल

कोरोना महामारीको समयमा पनि नेपालमा विदेशीको अवैध गतिविधि रोकिएन । नेपालमा बसेर कानुनविपरीत गतिविधि गर्ने विदेशीमा चिनियाँ, अमेरिकी र बेलायती अग्रस्थानमा रहेको अध्यागमन विभागको तथ्याङकले देखाउँछ । सन् २०२१ मा विभागले गरेको कारबाहीमा एक तिहाई तीन देशका नागरिक छन् ।

२०२१ मा एक सय ९० जना विदेशीलाई नेपालबाट निष्काशन गरिएको थियो । जसमा २७ जना चिनियाँ, १९ जना अमेरिकी र १५ जना बेलायती नागरिक छन् । त्यसमध्ये केही फौजदारी अपराधमा पक्राउ परेका र केही पाँच महिना भन्दा लामो समय अवैध रुपमा बसेकाहरु भएको विभागका अधिारी बताउँछन् । एक सय २५ जना भिसा अवधिभन्दा लामो समय बसेको र अन्य ६५ जना विभिन्न किमिसका अन्य अपराधमा संलग्न रहेको विभागले जनाएको छ। निष्काशन गर्दा उनीहरुलाई जरिवाना गरी अपराधको गम्भीरता हेरेर १० वर्षसम्म नेपाल आउन रोक लगाइन्छ ।

एक वर्षको अवधिमा विभागले ५७ देशका एक सय ९० जना विदेशीलाई विभागले निष्काशन गरेको छ । निष्काशित हुने विदेशीमा चीन, अमेरिका र बेलायतपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पाकिस्तान र रसियाका नागरिक छन् । दक्षिण कोरियाका ११, फ्रान्स, जर्मनी र पाकिस्तानका १०–१० तथा रसियाका ८ जनालाई विभागले निष्काशन गरेको हो । त्यस्तै, जापान, अफगानिस्तान, श्रीलंकाका ५÷५, इटाली, अष्ट्रेलिया, क्यानाडाका ४–४ जना निष्काशनमा परेका छन् । नेपाल आउनेमा चीन र अमेरिकका नागरिक धेरै भएकाले निष्काशनमा पर्नेमा पनि ती देशकै धेरै भएको विभागका अधिकारीको भनाई छ ।

खासगरी चिनियाँ नागरिकहरु भने पर्यटन भिसामा बसेर व्यापार तथा कानूनविपरीत गतिविधिमा संलग्न रहँदै आएको अध्यागमनको विश्लेषण छ । तर उसले कारबाही गर्न सक्दैन । सोही आधारमा गत जनवरी १ देखि निरन्तर बस्ने चिनियाँलाई भिसा शुल्क लिन थालिएको छ । नेपालमा चिनियाँलाई भिसा शुल्न नलाग्ने भएपनि लामो समय बस्नेको हकमा भने लिन थालिएको हो ।

पछिल्लो केही वर्षयता नेपालबाट निष्काशित हुनेमा चिनियाँ नागरिक पहिलो स्थानमा छन् । निष्काशित हुनेमा केही जेलबाट कैद सजाय भुक्तान गरेर छुटेकाहरु छन् । धर्मप्रचारमा संलग्न विदेशीलाई पनि निष्काशन गरिएको विभागका अधिकारी बताउँछन् । केही नेपाली मूलका विदेशी नागरिक छन् । विदेशी पासपोर्ट लिइसकेका नेपालीहरु अध्यागमन कानून नबुझि ५ महिना भन्दा लामो समय नेपाल बस्ने गरेका छन् । पछि अध्यागमनमा पुग्दा मात्र उनीहरुले ‘ओभरस्टे’ भएको थाहा पाउने गरेका छन् । पर्यटक भिसामा एक वर्षमा पाँच महिना भन्दा लामो समय बस्न पाइँदैन ।

अध्यागमन विभागको अनुगमन र नियमत बलियो हुन नसक्दा भिसाको उदेश्यविपरीतका गतिविधि गर्ने प्रवृत्ती बढेको हो । विभागका महानिर्देशक नारायण भट्टराई नियमनलाई कडाई गर्न लागिएको बताउँछन् । ‘विदेशी नागरिक कुन होटलमा बसेको छ भनेर थाहा हुने गरी सिष्टम बनाउँदैछौं,’ उनले भने,‘विदेशीमाथि नियमनमा केही कमजोरी अवश्य छन्, अब सिष्टममार्फत नै निगरानी गर्छाै ।’

आइएनजिओको नाममा धर्म प्रचारः दबाबमा कारबाही रोकियो

सामाजिक संस्थाको आवरणमा धर्म प्रचार तथा व्यापारको काम गरेको पाइएपछि अध्यागमन विभागले नेपालमा बस्दै आएका पाँच अमेरिकी र एक अस्ट्रेलियन नागरिकलाई कालोसूचीमा राखेको छ । माउन्टेन चाइल्ड नामक संस्थामा आबद्ध अमेरिकीलाई कालोसूचीमा राखेको हो । तर, सो संस्थामाथि भने समाज कल्याण परिषद्ले कारबाही गरेको थियो ।

अमेरिकी नागरिकहरू अलेन ज्याक्सननुनाली, मिचेल एममोर्गन, स्कट निकोलस स्मिथ, सराई एस्ले स्मित, केड मिचेल सिन्डेल र अस्ट्रेलियन नागरिक जेनिफर कन्सट्यान्स बोटरेललाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएका विदेशीको भिसा नवीकरण हुँदैन ।

गृह मन्त्रालयले माउन्टेन चाइल्डमाथि अनुसन्धान गरी कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालय तथा अध्यागमन विभागलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अध्यागमनले कारबाही गरेको हो । थप छानबिन र कारबाही समाज कल्याणबाट हुने भनिएपछि त्यहाँ सेटिङ मिलाएको आशंका गरिएको छ ।

अमेरिकाको माउन्टेन चाइल्ड नामक संस्थामार्फत सहयोग लिएर नेपालमा माउन्टेन चाइल्ड इन्क नेपाल संस्था सञ्चालन हुँदै आएको छ । सोही संस्थाका सञ्चालकहरूले माउन्टेन चाइल्ड गेस्ट हाउस, माउन्टेन चाइल्ड एडभेन्चर ट्राभल एन्ड ट्रेकिङ, एभ्रिडे हिमालय, धार्चाेक रिट्रिट सेन्टर, बौद्ध होस्टेल र स्टारलाइट फाउन्डेसनजस्ता संस्था सञ्चालन गर्दै आएका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक सुजन घिमिरेसँग मिलेर एनजिओको नाममा धर्म र व्यापार गरेको गृहको छानबिन रिपोर्टमा उल्लेख छ । सो संस्थामार्फत उनीहरूले हिमाली जिल्लाका दुर्गम गाउँमा स्कुल खोल्न भनेर सामाजिक कल्याण परिषद्बाट स्वीकृति लिएका थिए, जसले गोरखाको नुर्बुलगायत ठाउँमा स्कुल पनि खोल्यो ।

शिक्षा दिनुभन्दा त्यसको उद्देश्य धर्म परिवर्तन भएको खुलेपछि परिषद्ले सो संस्थाको प्रोजेक्ट नै रद्द गरेको थियो । संस्थाले अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत ठूलो रकम ल्याएर नेपालमा खर्च गर्दै आएको छ । संस्थाका कतिपय पदाधिकारी बिजनेस भिसामा बस्दै आएका छन् ।

नेपालमा सयौं विदेशी यसरी संस्थाको आवरणमा धर्म प्रचार, जासुसी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएपनि गुप्तचर र अध्यागमको कमजोरीले कारबाही हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्