Logo
Logo

दुई एआइजी नियुक्तिपछि अलपत्र



काठमाडौं । निर्वाचनका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा बढुवाको काम अवरुद्ध छ । आगामी साताबाट रोकिएका बढुवा अघि बढाउने गृह मन्त्रालयको तयारी छ ।

चुनावका कारण मन्त्रिपरिषद् बैठक बस्न नपाउँदा एआइजीमा बढुवा सिफारिस भएका दुई उच्च अधिकारीले फुली लगाउन पाएका छैनन् । सशस्त्र प्रहरीमा गत २१ बैशाखमै नारायणदत्त पौडेलको एआइजीमा बढुवा सिफारिस भएको थियो । सामान्यतया सिफारिस भएको एक सातामा सिफारिस हुने प्रावधान छ । तर, मन्त्रिपरिषद् बैठक नबस्दा निर्णय हुन सकेको छैन ।

त्यसो त उनको बढुवा सिफारिसलाई लिएर सशस्त्र प्रहरीमा असन्तुष्टि छ । दुई पद रिक्त भएपनि पौडेलको व्यक्तिगत स्वार्थका कारण एक पदमा मात्र बढुवा गरेको अन्य डिआइजीले बताएका छन् । एआइजी बढुवामा चन्द्रप्रकाश गौतम र बंशी दाहाल पनि प्रतिस्पर्धा छन् । अहिले एकल एआइजी भए पछि आइजिपी हुन सजिलो हुने भएकाले एकल बढुवा भएको हो ।

यसमा चलखेलको समेत आशंका गरिएको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काको दबाबमा परेर प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो विवादास्पद निर्णय गरेर संगठनलाई कमजोर बनाएको बालुवाटार स्रोत बताउँछ ।

नेपाल प्रहरीमा पनि सिफारिस भएका व्यक्तिले फुली लगाउन पाएका छैनन् । २३ बैशाखमा बसन्त कुमार लामाको एआइजीमा बढुवा सिफारिस भएको थियो । लामाले आगामी साताबाट अनिवार्य अवकाश पाउन लागेकाले उनको एकल बढुवा सिफारिस भएको थियो । तर, मन्त्रिपरिषद्ले निर्णय नगर्दा उनले पनि फुली लगाउन पाएका छैनन् । जसकारण फुली लगाएको २÷३ दिनमै उनले अवकाश पाउने भएका छन् ।

लामाको अवकाशपछि प्रहरीमा एआइजीमा पाँच पद रिक्त हुनेछन् । जसमा डिआइजीहरु उत्तम सुवेदी, अरुण बिसी, मोहन आचार्य, दिवेश लोहनी र पूजा सिंहको बढुवा हुने छ । रिक्त पद र प्रतिस्पर्धीको संख्या उस्तै भएकाले यसपटक एआइजी बढुवामा भने गृहले चलखेल गर्ने ठाउँ छैन । तर, कसलाई अगाडी बढुवा गर्ने भनेर चलखेल सुरु भइसकेको छ । साथै एआइजीको बढुवा लगत्तै सरुवा र पदस्थापन पनि हुने भएकाले त्यसका लागि पनि बालुवाटार निकट व्यक्तिहरुले चलखेल थालेका छन् ।

प्रहरीमा एआइजी लगत्तै डिआइजी बढुवा हुने छ । डिआइजीका १७ पदमा दोब्बर एसएसपीबीच प्रतिस्पर्धा छ । एकातर्फ केहीलाई बढुवामा पर्न प्रतिस्पर्धा छ भने वरियतामा अगाडी रहेका एसएसपीहरु भने टप ३ भित्र बढुवा हुने दौडधुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्