Logo
Logo

रोकिएका श्रमिक इजरायल पठाउन विभागको पहल



काठमाडौं । इजरायलको रोजगारीका लागि अन्तिम छनोट भएर रोकिएका नेपाली युवा लैजाने सम्बन्धमा नेपालले छलफल अघि बढाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण लामो समयदेखि रोकिएका नेपाली युवाको प्रक्रिया अघि बढाउन त्यहाँका विभिन्न निकायसँग छलफल अघि बढाइएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशक शेषनारायण पौडेलसहितको नेपाली टोलीले इजरायलको जनसंख्या तथा इमिग्रेसन अथोरिटी, इजरायलको स्वास्थ्य मन्त्रालय तथा नेपालस्थित इजरायदी दूतावासका प्रतिनिधिसँग छलफल भएको जानकारी दिए ।

महानिर्देशक पौडेलका अनुसार २ देशबीच एमओयू गरेर नेपाली श्रमिक इजरायल पठाउने सम्बन्धमा प्रक्रिया अघि बढेर छनोट भइ बाँकी रहेको ८ सयभन्दा बढी युवालाई छिटो छरितो पढाउने विषयमा छलफल भएको छ । नेपाली श्रमिक लैजाने विषयमा इजरायल पक्ष सकारात्मक भए पनि जाने श्रमिको सीप तथा योग्यताका सम्बन्धमा इजरायलको बुझाइ भने फरक रहेको पाइएको उनको भनाई छ ।

इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि नेपालस्थित इजरायली दूतावास र नेपाल सरकारको संयुक्त टोली छनोट गरेका कारण योग्यता र सीपको विषयमा शंका नरहेको नेपाल पक्षको भनाई छ । छलफलमा नेपाली पक्षबाट वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरे सहभागी संवादमा इजरायली पक्षबाट नेपालका लागि इजरायली राजदूत हानान गोडर, पिवाका निर्देशक सिरिली, इजरायल स्वास्थ्य मन्त्रालय निर्देशक तास्फी लगायतको उपस्थिति रहेको थियो । छनोट भएर रोजगार सम्झौता भएका १ हजार ५९ मध्ये २९७ जना यसअघि नै इजरायल प्रवेश गरिसकेका छन् ।

संवादका क्रममा प्रक्रियालाई अविलम्ब सुचारु गर्न इजरायली पक्षको ध्यानाकर्षण गराइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । कर्मचारी युनियनको आन्दोलन समाप्तिसँगै प्रक्रियालाई सुचारु गर्न इजरायली पक्ष समेत सकारात्मक रहेको नेपाली दूतावासले जनाएको छ ।

छनोट प्रक्रियाका लागि नेपाल पक्षबाट गर्नुपर्ने सबै काम पूरा गरेको जनाउँदै छनोट भएका सबै श्रमिकको भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावासमा रहेको विभागले जनाएको छ । हाल बाँकी रहेका श्रमिकको भिसा प्राप्त भएपछि विभागले अनलाइन श्रमस्वीकृति, बिमा र कल्याणकारी कोषको प्रक्रिया विभागको बुद्धनगरस्थित कार्यालयबाट गर्ने गरी तयारी गरिएको जनाएको छ ।

इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाम मध्ये ९५९ को रोजगार सम्झौता र २९७ इजरायल प्रवेश गरिसकेको बताइएको छ ।

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइनेछ ।

जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमासहित बढीमा ८५ हजार रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्